काठमाडौं- बैंकहरूले कर्जा लगानी गरेपछि पर्याप्त अनुगमन र वार्षिक मूल्याङ्कन नगर्ने गरेको तथ्य सार्वजनिक भएको छ।
राष्ट्र बैंकका अनुसार कर्जा मूल्याङ्कन तथा कर्जा वर्गीकरणमा कमजोरीहरू देखिएका हुन्।
बैंकहरु लिलामी प्रक्रियामा रहेका कर्जा फाइलहरूलाई वर्गमा नराख्ने, ऋणीको वार्षिक मूल्याकंन नगर्ने तथा सम्बन्धित पक्षका कर्जाहरूलाई अनुगमन नगर्ने गरेकाे पाइएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार कर्जा प्रवाहमा विभिन्न नियामकीय कमजोरीहरू देखिएका छन्। बैंकहरूले ऋणीको योग्य कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह गर्ने, नकारात्मक खुद मूर्त सम्पत्ति भएका संस्थाहरूलाई कर्जा उपलब्ध गराउने, पर्याप्त धितोबिना कर्जा विस्तार गर्ने तथा ५ प्रतिशतभन्दा बढी स्वामित्व भएका वित्तीय संस्थाका सेयरहरूलाई मार्जिन कर्जाको धितोका रूपमा स्वीकार गर्ने गरेको पाइएको हो।
