काठमाडौं- कोशी प्रदेशको संखुवासभा जिल्लामा निर्माण हुने ४ सय ५४ किलोमिटर किमाथांका अरुण जलविद्युत निर्माणमा ९३ अर्ब८० करोड रुपैयाँ रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ।
विद्युत उत्पादन कम्पनी लिमटेडको प्रस्तावमा विद्युत विकास विभागले मन्त्रालय मार्फत वातारणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा पर्यावरण मन्त्रालयमा पेस गरिएको छ।
अरुण जलविद्युत आयोजना कोशी प्रदेशको संखुवासभा जिल्लामा अवस्थित छ। यस जलविद्युत आयोजनाको जडित क्षमता ४५४ मेगावाट रहेको छ। यस आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन को लागि एनइए ईन्जिनियरिङ कम्पनी लिमिटेडलाई परामर्शदाताको रुपमा जिम्मेवारी दिइएको छ।
बाँधको आधारबाट १४० मिटर अग्लो बाँध बनाइ सोबाट उत्पन्न हुने जलाशयमा रहेको पानीको प्रयोग गरी विद्युतको अधिकतम माग हुने समयमा सञ्चालन गर्ने उद्देश्यका साथ यो आयोजना निर्माण गर्न लागिएको हो। बाँधको उचाइ समुन्द्र सतहबाट २ हजार ४० मिटर हुनेछ।
आयोजनाको बाँध संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका छुम्सुर गाउँ नजिक अरुण नदीको दाहिने किनारमा ख्योक्मा भन्ने ठाउँबाट करीव ५ सय मिटर तलको दूरीमा पर्दछ र माथिल्लो अरुण जलविद्युत आयोजनाको बाँध साइटभन्दा १२ किलोमिटर माथि अवस्थित छ।
बाँध चीन सीमाबाट करिब ३ किलोमिटर तल्लो तटमा पर्दछ। भूमिगत विद्युत गृह अरुण नदीको दाहिने किनारमा लिंगम गाउँबाट करीव ५०० मिटर मुनी पुङमुछी भन्ने ठाउँमा प्रस्ताव गरिएको छ। डुबान क्षेत्र भोटखोला गाउँपालिका वडा नम्बर २ को छुम्सुर गाउँको तल्लो भाग हुनेछ। पानीको धार परिवर्तन हुने क्षेत्र भोटखोला गाउँपालिका वडा नम्बर २ को छुम्सुर, च्याम्तांग, रिडाक गाउँको तल्लो भाग हुनेछ। बाँध क्षेत्रको शिविर भोटखोला गाउँपालिका वडा नम्बर अन्तर्गत छुम्सुरमा र पावरहाउस क्षेत्रको शिविर पुङमुछीमा रहनेछ।
आयोजनाबाट सुख्खा समयको उच्चतम माग हुने समयमा (आउटेज सहित) ४ सय ८५.९३ गिगावाट घण्टा/बर्ष र सुख्खा समय को उच्चतम माग नहुने समयमा (आउटेज सहित) २ सय ७९.२८ गिगावाट घण्टा/वर्ष उत्पादन हुनेछ। वार्षिक रुपमा सुख्खा समयमा (आउटेज सहित) कुल ७ सय ६५.२१ गिगावाट घण्टा बराबर र वर्षाको समयमा (आउटेज सहित) कुल १ हजार ७ सय ८५.९५ गिगावाट घण्टा गरी (आउटेज सहित) जम्मा २ हजार ५ सय ५१.१६ गिगावाट घण्टा उर्जा उत्पादन हुनेछ।
आयोजनाले अरुण नदीबाट आएको बहावलाई बिजुली उत्पादनका लागि प्रयोग गरी उत्पादित विद्युत करिब १८.५ किलोमिटर लम्बाइको ४ सय केभी प्रसारण लाइनमार्फत संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको हाइटारमा प्रस्तावित सबस्टेसनमा जोडी मुलुकको एकीकृत विद्युत प्रणालीमा निकास गरिने रिपोर्टमा उल्लेख छ। यस जलबिद्युत आयोजना निर्माण गर्न लगभग ९३ अर्ब ८० करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ।
आयोजनाका लागि जग्गा जलाशय क्षेत्र, निर्माण क्षेत्रहरू, आयोजनाका सुविधाहरू र सहायक संरचनाहरूको लागि आवश्यक छ। भूमिगत संरचनाहरु बाहेक यस आयोजनाका लागि कुल १ सय ६८.७३ हेक्टर जग्गा आवश्यक पर्ने आंकलन गरिएको छ। भूमिगत संरचनाहरुले कुल १७.६८ हेक्टर क्षेत्रफल ओगट्ने छन्।
आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन (जुन, २०२२) अनुसार आयोजनाका संरचनाका लागि मकालु बरुण राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा ६८.०९ हेक्टर निजी (स्थायी : ५३.६९ हे. र अस्थायीः १४.४ हे.) र ७२.७४ हेक्टर सरकारी स्वामित्व (स्थायी : ५५.६६ हे. र अस्थायी : १७.०८ हे.) को गरी जम्मा १४०.८३ हेक्टर र मध्यवर्ती क्षेत्र बाहिर सरकारी स्वामित्वको २७.९ हेक्टर (स्थायी : २४.४१ हे. र अस्थायीः ३.४९ हे.) गरी कुल १६८.७३ हेक्टर जग्गा आवश्यक पर्नेछ।
आयोजनाको कार्यालय, निर्माण शिविर, सेना शिविर, सामान भण्डारण क्षेत्र र विष्फोटक भण्डारण क्षेत्र लगायत सहायक संरचनाहरुका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ भने अन्य आवश्यक निर्माण क्षेत्र (कामदार शिविर र निर्माण क्षेत्र नजिकै निर्माण सामग्री भण्डारण) को लागी चाहिने उपयुक्त जग्गाको व्यवस्था गर्ने जिम्मा निर्माण व्यवसायीको हुने रिपोर्टमा उल्लेख छ।
आयोजनाको निर्माण अवधि ५ वर्षको हुने र २५ सय जनशक्ति आवश्यक पर्ने रिपोर्टमा उल्लेख छ।
