काठमाडौं- वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा गिरावट आएको छ।
३ महिनाको अवधिमा एनएमबि बैंकले बैशाखमा सबैभन्दा उच्च ४.९० प्रतिशत ब्याजदर दिएकोमा जेठमा ४.८० प्रतिशत र असारमा थप घटाएर ४.७५ प्रतिशत कायम गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले सुरुदेखि नै ४.७५ प्रतिशतको स्थिर दरलाई निरन्तरता दिँदै आएको छ।
ब्याजदरमा तीव्र कटौती गर्ने बैंकहरूमा एनआईसी एसिया र हिमालयन बैंक रहेका छन्। जसमध्ये बैशाखमा ४.७५ प्रतिशत ब्याज दिँदै आएको एनआईसी एसिया र ४.५० प्रतिशत दिँदै आएको हिमालयन बैंकले असारसम्म आइपुग्दा आफ्नो दरलाई ४ प्रतिशतमा झारेका छन्।
अर्कोतर्फ प्रभु बैंक र नबिल बैंकले ४.५५ प्रतिशत तथा ग्लोबल आइएमई, माछापुच्छ्रे, लक्ष्मी सनराइज, सानिमा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशतको स्थिर दरलाई बैशाखदेखि असारसम्म नै निरन्तरता दिएका छन्।
नेपाल बैंकले बैशाखको ४.५० प्रतिशतबाट घटाएर जेठ र असारमा ४.२५ प्रतिशत कायम राखेको छ भने नेपाल एसबीआई बैंकले ३ वटै महिना ४.२५ प्रतिशतमा ब्याजदर स्थिर राखेको छ।
सिटिजन्स बैंक इन्टरनेशनलले बैशाखमा ४.१५ प्रतिशत रहेको दरलाई जेठ र असारमा ४.१० प्रतिशत बनाएको छ। त्यस्तै प्राइम कमर्सियल बैंकले जेठको ४.१५ प्रतिशतबाट घटाएर असारका लागि ४ प्रतिशत तोकेको छ।
कृषि विकास बैंकले ४.१५ प्रतिशतको दरलाई ३ महिना यथावत राखेको छ। त्यसैगरि स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने बैशाखको ४.१० प्रतिशतबाट घटाउँदै जेठमा ४ प्रतिशत र असारमा ३.९५ प्रतिशत कायम गरेको छ। जुन सबैभन्दा न्यून ब्याजदर हो।
यस्तै सिद्धार्थ बैंक र एभरेष्ट बैंकले सुरुदेखि नै ४.०५ प्रतिशतको न्यून ब्याजदरलाई कायम राखेका छन् भने कुमारी बैंकले बैशाखको ४.०५ प्रतिशतको दरलाई जेठ र असारमा थोरै घटाएर ३.९६ प्रतिशतमा सीमित गरेको छ।
समग्रमा बैंकहरूमा कर्जाको माग सुस्त हुनु र निक्षेप संकलन बढिरहनुले ब्याजदर लगातार ओरालो लागेको देखिन्छ। जसले ऋण लिनेहरूका लागि लागत कम गरे पनि मुद्दती निक्षेपको ब्याज आम्दानीमा भर पर्ने सर्वसाधारणको कमाइमा भने सिधा कटौती ल्याएको छ।
