काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको उत्पादनमूलक उद्योग क्षेत्रको अवस्था कमजोर देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार उद्योगहरूको उत्पादनमा समग्र गिरावट आएको छ।
उद्योगहरुको औसत क्षमता उपयोग घटेर ४२.११ प्रतिशतमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा क्षमता उपयोग ४२.९४ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकको प्रतिवेदनले नेपालको अर्थतन्त्र क्रमिक सुधारतर्फ अघि बढे पनि उत्पादनमूलक उद्योग क्षेत्रमा भने अझै स्पष्ट कमजोरी रहेको देखाएको छ। औद्योगिक क्षमता उपयोग न्यून रहनु, निर्माण-आधारित उद्योगहरूको उत्पादन घट्नु र कृषि उत्पादनमा गिरावट आउनु अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा देखिएका छन्। तथापि निर्यात वृद्धि, पर्यटन आगमनमा सुधार र वित्तीय क्षेत्रमा विस्तारले अर्थतन्त्रलाई केही हदसम्म सहारा दिएको प्रतिवेदनले संकेत गरेको छ।
राष्ट्र बैंकका अनुसार २१ प्रकारका ५२ वस्तुहरूको उत्पादन तुलना गर्दा २८ प्रकारका वस्तुको उत्पादन घटेको देखिएको छ। यसले उत्पादनमूलक उद्योगहरूको ठूलो हिस्सा प्रभावित भएको छ। वनस्पति घिउ, तोरीको तेल, प्रशोधित दूध, बिस्कुट, चिया, हल्का पेय पदार्थ, चुरोट, कपडा, जुटजन्य उत्पादन, कच्चा तथा प्रशोधित छाला, प्लाइउड, कागज, ड्राइ सिरप, झोल साबुन, पोलिथिन पाइप, इँट्टा, सिमेन्ट, कंक्रिट, जीआई तार, घरेलु धातुका सामग्री, विद्युत् तार तथा केबल, टायर-ट्युब, छालाका जुत्ता र चप्पल तथा विद्युत् उत्पादनजस्ता आधारभूत उद्योगहरूको उत्पादन घटेको प्रतिवेदनमा उल्लेख छ।
उत्पादन गिरावटमध्ये छालाका जुत्ता उद्योग सबैभन्दा बढी प्रभावित देखिएको छ, जसमा उत्पादन ५८.३३ प्रतिशतले घटेको छ। त्यसपछि जीआई पाइप उत्पादन ५२.५१ प्रतिशतले र विद्युत् तार तथा केबल उत्पादन ४४.०४ प्रतिशतले घटेको छ। राष्ट्र बैंकले विशेषगरी निर्माण, ऊर्जा र पूर्वाधारसँग सम्बन्धित उद्योगहरूमा उत्पादनमा उल्लेख्य गिरावट आएको जनाएको छ। निर्माण गतिविधि सुस्त हुनु, राजनीतिक अस्थिरता तथा माग घट्नुजस्ता कारणले यी क्षेत्र प्रभावित भएको प्रतिवेदनको निष्कर्ष छ।
यद्यपि सबै उद्योग क्षेत्रमा गिरावट मात्र देखिएको छैन। केही उद्योगहरूमा भने उल्लेख्य वृद्धि भएको छ। स्टिलजन्य उत्पादनमा १२०.५५ प्रतिशतको उच्च वृद्धि देखिएको छ भने चिनी उत्पादन ११४.८६ प्रतिशतले बढेको छ। भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, चकलेट तथा चाउचाउ उत्पादनमा पनि वृद्धि भएको छ। त्यस्तै मदिरा तथा बियर, धागो, गार्मेन्ट, अन्य कपडा, गलैंचा, रङ, औषधि तथा फलाम छड र आल्मुनियम उत्पादनमा समेत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
उद्योग क्षेत्रको उत्पादन घटेसँगै क्षमता उपयोग पनि कमजोर अवस्थामा पुगेको छ। सर्वेक्षणमा समेटिएका १९५ उद्योगको औसत क्षमता उपयोग ४२.११ प्रतिशतमा झरेको छ। यसले उद्योगहरू आफ्नो पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको स्पष्ट देखाउँछ। तथापि केही उद्योगहरू उच्च क्षमतामा सञ्चालनमा रहेका छन्। गार्मेन्ट उद्योगले उच्च ९५.७४ प्रतिशत क्षमता उपयोग गरेको छ भने अन्य लत्ता-कपडा उत्पादन गर्ने उद्योगहरू ९० प्रतिशत हाराहारीमा सञ्चालन भएको देखिएको छ।
समग्र आर्थिक अवस्थाको विश्लेषण गर्दा नेपाल राष्ट्र बैंकले मिश्रित संकेत देखाएको छ। एकातर्फ औद्योगिक उत्पादन कमजोर देखिएको छ भने अर्कोतर्फ केही क्षेत्रमा सुधारका संकेत पनि देखिएका छन्। समीक्षा अवधिमा वस्तु निर्यात ४३.७६ प्रतिशतले वृद्धि भइ १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने वस्तु आयात १४.१८ प्रतिशतले वृद्धि भइ ९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। यसले व्यापार असन्तुलन अझै कायम रहेको देखाउँछ।
पर्यटन क्षेत्रमा पनि सुधार देखिएको छ। पहिलो छ महिनामा ६ लाख ३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। वैदेशिक रोजगारीतर्फ जाने नेपालीहरूको संख्या करिब ३ लाख ९६ हजार पुगेको छ, जसले रेमिट्यान्स प्रवाहलाई निरन्तर समर्थन गर्ने अपेक्षा गरिएको छ।
कृषि क्षेत्रमा पनि मिश्रित अवस्था देखिएको छ। खाद्य तथा अन्य बाली उत्पादन ६.७६ प्रतिशतले घटेको छ भने दूध उत्पादनमा २५.९७ प्रतिशतको गिरावट आएको छ। तर तरकारी, फलफूल, अन्डा तथा केही पशुजन्य उत्पादनमा भने वृद्धि देखिएको छ।
बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप १५.३९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ६.२४ प्रतिशतले बढेको छ। यसले वित्तीय प्रणालीमा तरलता विस्तार भएको संकेत गर्छ। त्यस्तै घरजग्गा कारोबार १०.४ प्रतिशतले घटे पनि राजस्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ।
