आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मोहन डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति चयन, विधान संशोधनपछि सबै पदमा प्रतिस्पर्धाको बाटो खुला

आइतबार, जेठ ३१ २०८३
मोहन डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति चयन, विधान संशोधनपछि सबै पदमा प्रतिस्पर्धाको बाटो खुला

शनिबार बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्यसमितिमध्ये कोषाध्यक्षबाहेक २५ पदमा सर्वसहमतिबाट नेतृत्व चयन गरेको हो।

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। शनिबार बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्यसमितिमध्ये कोषाध्यक्षबाहेक २५ पदमा सर्वसहमतिबाट नेतृत्व चयन गरेको हो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा चयन भएका छन् भने उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन्। विधान संशोधनपछि उपाध्यक्षको संख्या सात पुर्‍याउने व्यवस्था अनुसार बलराम खतिवडा र प्रकाशचन्द्र दुलाल थप उपाध्यक्षका रूपमा रहने भएका छन्।

त्यसैगरी महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्वाचित भएका छन्। संशोधित विधानअनुसार सचिवको संख्या पनि सात पुर्‍याउने व्यवस्था गरिएको छ, जसअनुसार कृष्ण घिमिरे र दीपक पौडेललाई थप गरिनेछ।

कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन्। सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कंडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने चयन भएका छन्।

संशोधित विधानअनुसार जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति प्राप्त भएपछि लागू हुने गरी पाँच जनालाई स्थायी आमन्त्रित सदस्यका रूपमा मनोनयन गर्ने व्यवस्था गरिएको छ। उक्त सूचीमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीले संगठनभित्र सबै पक्षलाई समेट्ने उद्देश्यसहित विधान संशोधन गरिएको जानकारी दिँदै अबदेखि समावेशी र लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाइने बताएका छन्। उनका अनुसार संशोधित व्यवस्थाअनुसार उपाध्यक्ष, सचिव र आमन्त्रित सदस्यहरूको संख्या वृद्धि गरिएको छ भने सबै पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ।

संशोधित विधानमा अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष बन्नका लागि कुनै राजनीतिक दलमा आबद्ध नरहेको वा पहिले आबद्ध भएमा त्यागेको प्रमाण पेश गर्नुपर्ने प्रावधान समेत राखिएको छ। साथै अध्यक्ष बन्नका लागि कार्यसमितिमा कुनै एक कार्यकाल काम गरेको अनुभव अनिवार्य गरिएको छ।

इप्पानको संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ।


प्रकाशित : आइतबार, जेठ ३१ २०८३०७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend