शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

कालीकोटमा जनज्योति माध्यमिक विद्यालय भवन शिलान्यास, भारत सरकारको सहयोगमा निर्माण सुरु

शुक्रबार, जेठ २९ २०८३
कालीकोटमा जनज्योति माध्यमिक विद्यालय भवन शिलान्यास, भारत सरकारको सहयोगमा निर्माण सुरु

कर्णाली प्रदेशको कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ।

काठमाडौं- कर्णाली प्रदेशको कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा करिब ९ करोड ३० लाख रुपैयाँ लागतमा निर्माण हुने यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना  अन्तर्गत अघि बढाइएको हो।

यो परियोजना कालीकोट जिल्लामा कार्यान्वयन हुने पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना भएको बताइएको छ। सान्नीत्रिवेणी गाउँपालिकामार्फत कार्यान्वयन हुने यस परियोजनाले स्थानीय तहको सहकार्यमा विद्यालय पूर्वाधार विकासलाई अघि बढाउने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवन निर्माणले विद्यालयका विद्यार्थी तथा शिक्षकका लागि सिकाइ वातावरण थप सुधार गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडियो सन्देशमार्फत परियोजनासँग सम्बन्धित सबै पक्षलाई शुभकामना व्यक्त गरेका छन्। उनले नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्दै साझा विकास र समृद्धिका लागि भारत सरकार निरन्तर प्रतिबद्ध रहेको बताएका छन्।

भारत सरकारका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना सुरु भएयता नेपालका सबै सात प्रदेश र ७४ जिल्लामा करिब ६०० भन्दा बढी परियोजना सञ्चालनमा छन्। तीमध्ये कर्णाली प्रदेशमा मात्रै १८ वटा परियोजना सञ्चालन भइरहेका छन्। यसका अतिरिक्त स्वास्थ्य र शिक्षासम्बन्धी पूर्वाधार सहयोगअन्तर्गत कालीकोटमा ४ वटा एम्बुलेन्स र २ वटा स्कुल बस उपलब्ध गराइएको छ भने कर्णाली प्रदेशभर हालसम्म ५६ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस विभिन्न संस्थाहरूलाई हस्तान्तरण गरिएको छ।

नेपाल र भारतबीच नजिकको छिमेकीका रूपमा बहुक्षेत्रीय सहकार्य निरन्तर विस्तार भइरहेको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाले स्थानीय पूर्वाधार विकासलाई सुदृढ बनाउँदै नेपाल सरकारको विकास र समृद्धिसम्बन्धी प्रयासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


प्रकाशित : शुक्रबार, जेठ २९ २०८३११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend