इनरुवा- सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्रयाइएका छ लाख १४ हजार रुपैयाँबढी मूल्यका सामान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाइबाट खटिएको टोलीले बुधबार र बिहिबार सञ्चालन गरेको विशेष अभियानका क्रममा अवैध रुपमा भित्रयाइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
जिल्लाका छ वटा स्थानबाट छ लाख १४ हजार बराबरको भन्सार छलीका लत्ताकपडा, किराना सामग्री र सामान ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसमध्ये इनरुवा-१ बाट रु चार लाख २७ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। बर्जु-४ बाट १ लाख पाँच हजार रुपैयाँ, रामधुनी नगरपालिका-५ बाट ३० हजार ९ सय १०, इनरुवा-६ बाट ३० हजार, दुहबी-३ र कोशी-५ बाट क्रमश १० हजार ६ सय ९७ र १० हजार ५ सय रुपैयाँ मूल्य बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सामानलाई कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको छ। सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक केशवकुमार थेबेले बताए।रासस
