काठमाडौं- नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको आयोजनामा भइरहेको देशव्यापी क्रिकेट ट्यालेन्ट हन्ट 'बिट द स्पिड' को सिजन-३ अन्तिम चरणमा पुगेको छ।
देशको पूर्वदेखि पश्चिमसम्मका २३ वटा विभिन्न सहरहरूमा पुगेर सम्पन्न गरिएको प्रारम्भिक छनोट चरण पार गर्दै यो अभियान फाइनल चरणमा आइपुगेको छ।
वर्ल्डलिंकले यसपटक पहिलोपटक सुदूरपश्चिमको दुर्गम जिल्ला बैतडी र महेन्द्रनगर लगायतका क्षेत्रहरूलाई समेट्दै कुल २३ वटा सहरमा पुगेर देशका कुना-कुनामा लुकेका तीव्र गतिका बलरहरूको पहिचान गरेको हो।
अभियानले नेपालको तल्लो तह (ग्रासरुट) देखि नै क्रिकेटको विकास र प्रतिभा पहिचानमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
गत वर्ष सम्पन्न दोस्रो सिजनका विजेता हिमत महराले १३० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेर उपाधि जितेका थिए। उनले सो उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको टिममा आबद्ध भई नेपाल प्रिमियर लिग (एनपीएल) मा समेत उत्कृष्ट प्रदर्शन गर्दै हाल १४० भन्दा माथिको गतिमा बलिङ गरिरहेका छन्।
वर्ल्डलिंकले सिजन-३ का सबै २३ वटा सहरका गतिविधिको भिडियो क्लिपहरु आफ्नो आधिकारिक युट्युब च्यानल र फेसबुक पेजमा सर्वसाधारणका लागि उपलब्ध गराएको छ, जहाँबाट खेलप्रेमीहरूले सम्पूर्ण जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।
देशभरका सहरहरूबाट सहभागी भएका करिब ३ हजारभन्दा बढी आकांक्षी खेलाडीहरू मध्येबाट सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने उत्कृष्ट १० जना खेलाडीहरूलाई फाइनल प्रतिस्पर्धाका लागि काठमाडौं ल्याइएको छ।
काठमाडौंमा आयोजना हुने अन्तिम चरणको प्रतिस्पर्धामा खेलाडीहरूको वास्तविक बलिङ क्षमता जाँच्नका लागि तीनवटा विशेष विधा वा कम्पिटिसन फर्म्याट तयार गरिएको कम्पनीले जनाएको छ। यस अन्तर्गत खेलाडीहरूको बल फाल्ने गति सँगसँगै उनीहरूको लाइन एण्ड लेन्थ एक्युरेसी , इकोनोमी र एजिलिटी को कडा परीक्षण गरिने भएको छ।
यी सबै सूचकका आधारमा सर्वोत्कृष्ट घोषित हुने विजेता र एकजना उदीयमान (प्रमिसिङ) खेलाडी गरी दुईजनालाई वर्ल्डलिंकले भारतको चर्चित 'जस्ट क्रिकेट एकेडेमी' मा तीन महिनाको विशेष प्रशिक्षणका लागि पठाउने कम्पनीले जनाएको छ। गत सिजनका विजेताहरूले सोही एकेडेमीमा तालिम लिँदा भारतीय राष्ट्रिय टोलीका प्रख्यात खेलाडीहरू रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त र केएल राहुल जस्ता स्टारहरूलाई नेटमा बलिङ गर्ने र उनीहरूसँग उत्कृष्ट एक्स्पोजर पाउने ऐतिहासिक अवसर प्राप्त गरेका थिए।
यस वर्षको सिजन-३ मा थप नयाँ आकर्षणका रूपमा अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर एन्ड्रयु लियोनार्ड (नेपालमा 'तक्लोडाइ' नामले परिचित) पनि यस क्याम्पियनमा जोडिएका छन्। उनले पोखरा, धनगढी, महेन्द्रनगर, सिमरा, हेटौंडा र वीरगन्ज जस्ता देशका धेरै सहरहरूमा पुगेर खेलाडीहरूको हौसला बढाएका छन्, जसलाई स्थानीय क्रिकेट प्रेमीहरूले निकै मन पराएका छन्।
क्रिकेटमा ब्याट्सम्यान भन्दा फास्ट बलरहरूमा एक प्रकारको जन्मजात वा प्राकृतिक प्रतिभा (इनहेरेन्ट ट्यालेन्ट) हुने र हातको लचकता एवं मुभमेन्टबाटै उनीहरूको वास्तविक क्षमता तत्कालै चिन्न सकिने भएकाले वर्ल्डलिंकले तीव्र गतिका बलरहरूको खोजीलाई प्राथमिकता दिएको हो।
यो वृहत् अभियानमा नेपाल क्रिकेट संघ (क्यान) समेत कनेक्टिभिटी पार्टनरका रूपमा जोडिएको छ। साथै वर्ल्डलिंकका ब्रान्ड एम्बास्डरहरू रोहित पौडेल, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समेत क्याम्पियनमा सक्रियतापूर्वक सहभागी भई कतै आफैं बलिङ गरेर त कतै ब्याटिङ फेस गरेर युवा प्रतिभाहरूलाई प्रोत्साहित गरेका छन्।
वर्ल्डलिंकले ३ हजारभन्दा बढी युवाहरूको सहभागिता र जनस्तरबाट पाएको अपार मायाप्रति आभार प्रकट गर्दै ग्रान्ड फिनालेको भिडियो चाँडै नै आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमा रिलिज गर्ने जानकारी दिएको छ।
