मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नेपाल भित्रिएको डेढ वर्षपछि यात्रु बोकेर शनिबारदेखि चल्ने भयो रेल

बुधबार, चैत १६ २०७८
नेपाल भित्रिएको डेढ वर्षपछि यात्रु बोकेर शनिबारदेखि चल्ने भयो रेल

भर्चुअल उद्घाटनपछि जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा रेल यात्रु बोकेर चल्ने छ।

काठमाडौं- सरकारले जनकपुरको कुर्थाबाट जयनगरसम्म चलाउन भनेर रेल भित्र्याएको डेढ वर्षपछि बल्ल सञ्चालनमा आउने भएको छ। भारतबाट किनिएको रेल २०७७ असोज २ गते नेपाल आइपुगेको थियो। कानून र कर्मचारी अभावका कारण रेल सञ्चालनमा आउन सकेको थिए। 

केपी ओली सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले केही समयअघि पुनः रेल्वे अध्यादेश ल्याएको हो। रेल्वे अध्यादेश आएसँगै कानूनी बाटो खुलेकाले जनकपुर-जयनगर रेल सञ्चालन पक्का भएको हो। योसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा रेल्वे सेवाको उद्घाटन हुने तय भएको छ। 

भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित देउवाले संयुक्त रुपमा जयनगर-जनकपुर खण्डमा सञ्चालन हुने रेलको उद्घाटन गर्नेछन्। भर्चुअल उद्घाटनपछि जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा रेल यात्रु बोकेर चल्ने छ।

भारत सरकारले विस्तार गरिदिएको ब्रोडगेज रेलमार्गको हाइ स्पीड परीक्षण एक वर्षअघि नै भइसकेको थियो। सरकारले भारतको काँकड रेल्वे कर्पोरेसनसँग करिब एक अर्ब रुपैयाँमा किनेर ल्याएको थियो। 

जनकपुर-जयनगरमा सञ्चालन गर्ने जिम्मा नेपाल रेल्वे कम्पनीले पाएको थियो। दुईवटा सरकारले ३ वटा रेल्वे अध्यादेश ल्यायो भने नेपाल रेल्वे कम्पनीमा दुई महाप्रबन्धक परिवर्तन गरेपछि रेल चल्ने वातावरण बनेको हो। 

रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतबाट प्राविधिक जनशक्ति ल्याइसकेको छ। कम्पनीले अन्य आवश्यक कर्मचारी समेत भर्ना गरिसकेको छ। अन्तरदेशीय रेलमार्ग भएकाले भारत पनि रेल चलाउन सहमत हुनुपर्छ। यसका लागि दुई देशका सचिवस्तरीय बैठकबाट उक्त सहमति भइसकेको छ। 

रेल सञ्चालनका लागि भाडा निर्मारणदेखि अन्य सबै काम सकिएको रेल्वे कम्पनीले जनाएको छ। जनकपुर-कुर्था-जयनगरसम्म सामान्यतर्फ प्रतियात्रु ७० रूपैयाँ र वातानुकुलित सिटमा ३ सय रूपैयाँ भाडा निर्धारण गरिएको छ। 

यस्तै रेल दुर्घटनमा परी कोही कसैको ज्यान गएको खण्डमा सात लाख रूपैयाँसम्म क्षतिपूर्ति दिइने व्यवस्थासमेत रेल्वे अध्यादेशमा गरिएको छ। गत फागुनदेखि नै दैनिक एक पटक रेल सञ्चालन गरिँदै आएको थियो। सबै प्राविधिक तयारी पूरा भएको र कर्मचारीसमेत नियुक्त भइ काममा खटिइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ।

 


प्रकाशित : बुधबार, चैत १६ २०७८०४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend