सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

म्यारियटको तीव्र विस्तार : सीजी र शेष घलेसँगको नयाँ सम्झौतासँगै नेपालमा म्यारियटका ८ होटल

सोमबार, जेठ २५ २०८३
म्यारियटको तीव्र विस्तार : सीजी र शेष घलेसँगको नयाँ सम्झौतासँगै नेपालमा म्यारियटका ८ होटल

म्यारियटको विस्तारले नेपाललाई दक्षिण एसियामा उदीयमान लक्जरी तथा प्रिमियम आतिथ्य गन्तव्यका रूपमा स्थापित गर्ने काम गरिरहेको छ।

काठमाडौं- म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड एस म्यारियटको पहिलो नेपाल भ्रमणसँगै नेपालको लक्जरी आतिथ्य क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ। 

काठमाडौंमा आइतबार आयोजित विशेष कार्यक्रममा म्यारियट इन्टरनेसनल र चौधरी ग्रुप (सीजी हस्पिटालिटी ग्लोबल) बीच नेपाल र भारतमा तीन नयाँ लक्जरी होटल परियोजनाको औपचारिक सम्झौता भयो।

सम्झौताअन्तर्गत काठमाडौंमा 'द रिट्ज-कार्लटन काठमाडौं' र 'द वेस्टिन काठमाडौं' तथा भारतको सिलिगुडीमा 'जे-डब्ल्यू म्यारियट होटल सिलिगुडी' विकास गर्ने घोषणा गरिएको छ। कार्यक्रममा म्यारियटका अध्यक्ष डेभिड एस म्यारियट र सीजी ग्रुपका अध्यक्ष डा. विनोद चौधरीको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डेभिड एस म्यारियटले यो सम्झौता म्यारियट इन्टरनेसनल र सीजी कर्प ग्लोबलबीचको सम्बन्धमा एक महत्वपूर्ण माइलस्टोन भएको बताए।

उनले भने, 'आज हामी नेपाल र भारतमा तीनवटा उत्कृष्ट होटलको सम्झौता गर्दैछौं-द रिट्ज-कार्लटन काठमाडौं, द वेस्टिन काठमाडौं र जे.डब्ल्यू. म्यारियट सिलिगुडी। यो हाम्रो साझेदारीलाई अझ मजबुत बनाउने ऐतिहासिक कदम हो।'

उनका अनुसार प्रत्येक नयाँ होटलले रोजगारी, पर्यटन र आर्थिक अवसर विस्तार गर्नेछ। उनले थपे, 'हरेक होटलले अवसर सिर्जना गर्छ-हाम्रा कर्मचारी, होटल मालिक, पर्यटन क्षेत्र र पाहुनाहरू सबैका लागि अवसर विस्तार हुन्छ।'

नेपालबारे बोल्दै उनले काठमाडौंलाई इतिहास, संस्कृति र आतिथ्यको शहरका रूपमा वर्णन गरे। 'नेपाल म्यारियटका लागि अत्यन्तै महत्वपूर्ण अवसर हो। यहाँको प्राकृतिक सुन्दरता र बढ्दो पर्यटन पूर्वाधारले विश्वभरका यात्रुहरूलाई आकर्षित गरिरहेको छ,' उनले भने।

कार्यक्रममा उनले म्यारियट इन्टरनेसनलको आगामी १०० वर्षे यात्रातर्फ संकेत गर्दै यस्तो साझेदारीलाई कम्पनीको दीर्घकालीन रणनीतिको हिस्सा भएको बताए।

नेपालमा म्यारियटको प्रवेश पहिलो पटक काठमाडौं नक्साल-नागपोखरीस्थित काठमाडौं म्यारियट होटलमार्फत भएको हो। २०७६ सालदेखि सञ्चालनमा आएको यो पाँचतारे होटल एमएस ग्रुपको करिब चार अर्ब रुपैयाँ लगानीमा विकसित २१५ कोठासहितको संरचना हो।

त्यसपछि ठमेलमा फेयरफिल्ड बाइ म्यारियट सञ्चालनमा आएको छ, जसले मिड-स्केल अन्तर्राष्ट्रिय ब्रान्डको रूपमा सेवा दिइरहेको छ।

यस्तै कमलादीमा मोक्सी काठमाडौं सञ्चालनमा आएको छ, जुन युवाकेन्द्रित लाइफस्टाइल होटल ब्रान्ड हो।

यसैगरी नेपालको ऐतिहासिक पाँचतारे होटल द सोल्टी काठमाडौं म्यारियटको अटोग्राफ कलेक्सन ब्रान्डअन्तर्गत सञ्चालनमा छ, जसले परम्परागत नेपाली आतिथ्यलाई अन्तर्राष्ट्रिय लक्जरीसँग जोडेको छ।

हालैको विस्तारअन्तर्गत सीजी हस्पिटालिटी र म्यारियटबीच भएको सहकार्यमार्फत काठमाडौंमा दुई ठूला परियोजना अघि बढाइएको छ। 'द रिट्ज-कार्लटन काठमाडौं' र 'द वेस्टिन काठमाडौं'। यी दुवै परियोजना निर्माणाधीन अवस्थामा रहेका छन् र अल्ट्रा-लक्जरी सेग्मेन्टलाई लक्षित गरिएको छ।

यसैबीच पूर्वएनआरएनए अध्यक्ष शेष घलेले काठमाडौं लैनचौरमा निर्माण गरिरहेको द लक्जरी कलेक्सन काठमाडौं पनि म्यारियटको उच्चतम लक्जरी ब्रान्डअन्तर्गत विकास भइरहेको छ। करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना १७ तले संरचनामा २२२ कोठासहित निर्माण भइरहेको छ।

यी सबै परियोजना समेटिँदा नेपालमा म्यारियटका ८ वटा प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका होटल तथा परियोजना सक्रिय भएका छन्। ती ब्रान्डहरूमा म्यारियट होटल्स (काठमाडौं म्यारियट), फेयरफिल्ड बाइ म्यारियट, अलफ्ट, मोक्सी, अटोग्राफ कलेक्सन, द रिट्ज-कार्लटन, द वेस्टिन र द लक्जरी कलेक्सन समावेश छन्।

म्यारियटको विस्तारले नेपाललाई दक्षिण एसियामा उदीयमान लक्जरी तथा प्रिमियम आतिथ्य गन्तव्यका रूपमा स्थापित गर्ने काम गरिरहेको छ। सीजी हस्पिटालिटी र शेष घलेजस्ता ठूला लगानीकर्ताको सहभागिताले विदेशी लगानी, अन्तर्राष्ट्रिय ब्रान्ड प्रवेश र पर्यटन पूर्वाधार विकासलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।

यी हुन् नेपालका म्यारियटअन्तर्गतका होटल

काठमाडौं म्यारियट होटल

फेयरफिल्ड बाइ म्यारियट काठमाडौं

अलफ्ट काठमाडौं ठमेल

मोक्सी काठमाडौं

द सोल्टी काठमाडौं - अटोग्राफ कलेक्सन

द रिट्ज-कार्लटन काठमाडौं- निर्माणाधीन

द वेस्टिन काठमाडौं - निर्माणाधीन

द लक्जरी कलेक्सन काठमाडौं- निर्माणाधीन


प्रकाशित : सोमबार, जेठ २५ २०८३११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend