सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाली महिला प्राविधिकले बनाए किसानलाई सघाउने सफ्टवेयर 'साथी'

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १३ २०७८
नेपाली महिला प्राविधिकले बनाए  किसानलाई सघाउने सफ्टवेयर 'साथी'

अहिलेका लागि यो एप्लिकेसन एन्ड्रोइडमा उपलब्ध छ। 

काठमाडौं-  नेपाली इन्जिनियरहरूले नेपाली किसानका लागि उपयोगी हुने प्रणाली विकास गरेका छन्। 

नेपालका किसानहरूले खेतीपाती गर्दा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकता आर्टिफिसिएल इन्टेलिजेन्स एआई) को प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउने यस्तो सफ्टवेयर विकास गरेका छन्। 

एआईमा आधारित साथी नामको डिभाइस तथा एप्लिकेसन  आज काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ। 

महिला विकास समाज विमेन डेभलपमेण्ट सोसाइटी (वोडेस) मा सक्रिय महिला इन्जिनियरहरूको समूह 'इम्प्याक्टर्स' यस्तो प्रणालीको विकास गरेको हो। 

लचना हाडाको नेतृत्वमा  तयार भएको यो प्रणालीले परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारण दिन प्रतिदिन ओरालो लाग्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्नमा तथा सामान्य किसानलाई पनि सूचना प्रविधिको लाभ पुग्ने दाबी गरिएको छ। 

कम्प्युटर विज्ञान, विशेषगरी मसिन लर्निङ र एआई, इलेक्ट्रिकल इन्जिनियरिङ र कृषि विज्ञानका सहायताबाट 'साथी' तथा प्रणालीको विकास गरिएको हाडाले जानकारी दिइन्। 

'यसले नेपाली किसानलाई आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने तथा परीक्षणको नतिजा पाउन लामो समय कुर्नुपर्ने वाध्यता अन्य गर्दै स्थलगत रूपमै तत्कालै त्यस सम्बन्धी जानकारी प्रदान गर्दछ' हाडाले भनिन्। 

यो प्रणालीमा एउटा डिभाइस हुन्छ जुन मोबाइलमा हुने साथी एपसँग जोडिएको हुन्छ। त्यो डिभाइसको गतिविधि एप्लिकेसनमा हेर्न मिल्छ। 

डिभाइसको प्रयोगबाट खेतको माटोको गुणस्तर पहिचान गर्न सकिने भएकोले कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने छनोट गर्न किसानलाई सक्षम बनाउने दाबी गरिएको छ। बालीको स्वास्थ्य सुपरीवेक्षण गर्न पनि सहयोग गर्ने हुँदा समयमै उपयुक्त उपचारका लागि पहल गर्न पनि सजग गराउने हाडाको दाबी छ। 

अहिलेका लागि यो एप्लिकेसन एन्ड्रोइडमा उपलब्ध छ। 

कृषि सम्बन्धी जटिल विश्लेषण गर्न सक्ने सेन्सर सहितको प्रोटोटाइपले माटो तथा बालीनाली सम्बन्धी तथ्य संकलन गर्दछ। ल्यापटप वा मोबाइलमा राखिने साथी को सफ्टवेयरले उक्त तथ्यलाई विश्लेषण गरी माटोको लवणता, तापक्रम, आर्द्रता, नाइट्रोजन, फोस्फरस, पोटासियम र अम्लताको अवस्थाबारे जानकारी प्रदान गर्दछ । यसैगरी उक्त सफ्टवेयरले बालीनालीमा लाग्ने २६ किसिमका रोगको पहिचान पनि गर्न सक्दछ हाल यस डिभाइसले धान, गहु, केरा, गोलभेडा, आलू, जुट तथा कफिलगायत २३ किसिमका बालीमा लागेको रोग पत्ता लगाउन सक्दछ । यस प्रविधिसञ्चालनका लागि इन्टरनेट वा क्लाउड पूर्वाधार पनि नचाहिने हुनाले दुर्गम क्षेत्रका किसानले पनि यसलाई सजिलै प्रयोग गर्न सक्ने हाडाको भनाइ छ। 


प्रकाशित : आइतबार, चैत १३ २०७८११:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend