शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बढ्दो बेरुजुले सार्वजनिक निकायको जवाफदेहिता खस्किएको देखियो - राष्ट्रपति

शुक्रबार, जेठ १ २०८३
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

राष्ट्रपति पौडेलले अनियमित सरकारी खर्चलाई निरुत्साहित गर्दै आर्थिक अनुशासन कायम गर्न सके मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिप्रतिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरे।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरेका हुन्।

महालेखापरीक्षकको त्रिसठ्ठिऔं वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले लामो समयदेखि सरकारी खर्चको बेरुजु बढ्दै जानुले सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर बन्दै गएको संकेत गरेको बताएका छन्।

उनले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारी अझ बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने आवश्यकता औंल्याए।

‘बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु,’ राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले अनियमित सरकारी खर्चलाई निरुत्साहित गर्दै आर्थिक अनुशासन कायम गर्न सके मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिप्रतिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरे। उनका अनुसार प्रतिवेदनमा उठाइएका विषयले सम्बन्धित निकाय र सरोकारवालालाई थप जिम्मेवार र उत्तरदायी बन्न प्रेरित गर्नेछ।

राष्ट्रपति पौडेलले सरकारी खर्चको बढ्दो बेरुजु नियन्त्रण, आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धनमा महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि तथा आन्तरिक सुशासन सुदृढ बनाउन कार्यालय अझ सक्रिय हुनुपर्ने बताए।


प्रकाशित : शुक्रबार, जेठ १ २०८३१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend