काठमाडौं- भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। आन्तरिक बजारमा मूल्य नियन्त्रण र पर्याप्त मौज्दात सुनिश्चित गर्ने उद्देश्यसहित भारत सरकारले बुधवारदेखि लागू हुने गरी चिनी निर्यात रोक्ने निर्णय गरेको हो।
वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी) ले सूचना जारी गर्दै चिनीको निर्यात नीतिमा परिवर्तन गरिएको जनाएको छ। यसअघि ‘प्रतिबन्धित’ श्रेणीमा रहेको चिनीलाई अब ‘निषेधित’ श्रेणीमा राखिएको छ। यससँगै अब विशेष अनुमति लिएर समेत चिनी निर्यात गर्न नपाइने व्यवस्था गरिएको छ।
सरकारको नयाँ निर्णयअनुसार कच्चा, सेतो तथा प्रशोधित सबै प्रकारका चिनीको निर्यातमा तत्कालका लागि रोक लगाइएको छ। यो व्यवस्था आगामी असोज १४ गते (सेप्टेम्बर ३०) सम्म वा अर्को आदेश जारी नभएसम्म कायम रहने महानिर्देशनालयले जनाएको छ।
यद्यपि, अमेरिका तथा युरोपेली संघ अन्तर्गतका मुलुकका लागि तोकिएको निश्चित कोटाभित्र हुने निर्यात भने प्रतिबन्धबाट मुक्त रहने उल्लेख गरिएको छ।
विश्वकै प्रमुख चिनी उत्पादक तथा निर्यातकर्ता मुलुकमध्ये एक भारतको यो निर्णयले दक्षिण एसियाली बजारमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ। विशेषगरी नेपाल जस्ता भारतमा निर्भर मुलुकमा चिनीको आपूर्ति प्रभावित भई मूल्य वृद्धि हुन सक्ने आकलन गरिएको छ।
नेपालमा अधिकांश चिनी भारतबाट आयात हुने भएकाले आगामी चाडपर्व नजिकिँदै गर्दा बजारमा मूल्यवृद्धिको दबाब थप बढ्न सक्ने व्यवसायीहरूले बताएका छन्।
