आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अनुसन्धानका नाममा ‘धरपकड’ नगर्न सरकारलाई महासंघको चेतावनी, ‘बैंकिङ क्षेत्रको साखमै असर पर्छ’

शुक्रबार, जेठ १ २०८३
अनुसन्धानका नाममा ‘धरपकड’ नगर्न सरकारलाई महासंघको चेतावनी, ‘बैंकिङ क्षेत्रको साखमै असर पर्छ’

नेपाल उद्योग वाणिज्य महासंघ ले अनुसन्धानका नाममा उद्योगी, निर्माण व्यवसायी तथा बैंकरहरूमाथि फौजदारी कसुरको शैलीमा भइरहेको धरपकडप्रति आपत्ति जनाएको छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ ले अनुसन्धानका नाममा उद्योगी, निर्माण व्यवसायी तथा बैंकरहरूमाथि फौजदारी कसुरको शैलीमा भइरहेको धरपकडप्रति आपत्ति जनाएको छ।

महासंघले बिहीवार विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कार्यशैलीले मुलुकको व्यवसायिक वातावरणमा त्रास सिर्जना गर्नुका साथै लगानीकर्ता र निजी क्षेत्रलाई नकारात्मक सन्देश गएको जनाएको हो।

महासंघका अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई कर्जा असुलीसम्बन्धी विषयमा पक्राउ गर्ने घटनाले बैंकिङ क्षेत्रकै साखमा असर पार्न सक्छ। बैंक जनविश्वासमा आधारित संस्था भएकाले यस्ता कदमले निक्षेपकर्ता र वित्तीय प्रणालीप्रति नै गलत सन्देश जाने महासंघको भनाइ छ।

विज्ञप्तिमा यस्ता घटनाले बैंकहरूको कर्जा प्रवाहसम्बन्धी निर्णय क्षमता कमजोर बन्न सक्ने उल्लेख गरिएको छ। त्यसबाट लगानी विस्तार प्रभावित हुने र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने जोखिम रहेको महासंघले जनाएको छ।

महासंघले प्रारम्भिक अनुसन्धान नै पूरा नगरी उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने तथा ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्तिले सम्बन्धित व्यक्तिको प्रतिष्ठामा गम्भीर क्षति पुग्ने उल्लेख गरेको छ। अनुसन्धानलाई गोप्य र कानुनी प्रक्रिया अनुसार अघि बढाउन तथा देवानी दायित्वसँग सम्बन्धित विषयमा सोहीअनुसार छानबिन र अभियोजन गर्न सरकारसँग माग गरिएको छ।

संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसुरदार मान्न नहुने संवैधानिक व्यवस्थाको स्मरण गराउँदै महासंघले सरकारलाई यस विषयमा गम्भीर बन्न आग्रह गरेको छ।

महासंघले विगत चार वर्षदेखि सुस्त रहेको अर्थतन्त्र अहिलेको लगभग दुई तिहाइ बहुमतको सरकारबाट व्यवसायीमैत्री नीति र व्यवहारको अपेक्षा गरिएको अवस्थामा यस्ता गतिविधिले लगानीकर्ता थप असुरक्षित महसुस गर्ने अवस्था सिर्जना हुन नहुने उल्लेख गरेको छ। निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुने वातावरण निर्माण गर्न सरकारसँग महासंघले अपिल गरेको छ।


प्रकाशित : शुक्रबार, जेठ १ २०८३०६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend