काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेका चर्चित ब्रान्डको चाउचाउ स्वास्थ्यका लागि अहितकर तथा गुणस्तरहीन फेला परेपछि सम्बन्धित उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा ती खाद्य पदार्थमा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुरुप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको जनाएको छ।
विभागका अनुसार यशोदा फुड्स प्रालिद्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ चाउचाउको ब्याच नम्बर '०४ ए' मापदण्ड विपरीत भेटिएको हो।
त्यसैगरी एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालिद्वारा उत्पादित ७५ ग्रामको ‘ज्याक न्याक क्राकर्स’ बिस्कुटको ब्याच नम्बर ६ मा समेत तोकिएको मापदण्ड पूरा नभएको विभागले उल्लेख गरेको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम विभागले सम्बन्धित कम्पनीहरूलाई उक्त ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको हो।
साथै ऐनको उपदफा (४) अनुसार ती सामग्रीहरूको बिक्री वितरण रोक्का गर्न तथा अर्को सूचना जारी नभएसम्म बिक्री नगर्न/नगराउन महानिर्देशकस्तरबाट आदेश जारी गरिएको विभागले जनाएको छ।
विभागले उपभोक्तालाई यस्ता उत्पादन खरिद गर्दा ब्याच नम्बर तथा गुणस्तरबारे सचेत रहन आग्रह गरेको छ।
