आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

आन्दोलनमा निर्माण व्यवसायी, देशभरका प्रशासन कार्यालयमा धर्ना

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३१ २०८३
आन्दोलनमा निर्माण व्यवसायी, देशभरका प्रशासन कार्यालयमा धर्ना

महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइ शान्तिपूर्ण तवरमा आधा घण्टा धर्ना दिएका छन्।

काठमाडौं- पश्चिम एसियामा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक-पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको जनाएको छ।

महासंघले तय गरेको पूर्वनिर्धारित शान्तिपूर्ण विरोधको कार्यक्रमअनुसार बिहीबार केन्द्रमा एशोसिएट सदस्य समन्वय समितिको तर्फबाट सडक विभाग र ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाइ ती विभागहरूमा आधा घण्टा धर्ना दिइएको छ।

एशोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले महानिर्देशकद्धयलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्था बारे अवगत गराए।

यसैबीच महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइ शान्तिपूर्ण तवरमा आधा घण्टा धर्ना दिएका छन्।

मूल्यवृद्धिका कारण अब उप्रान्त निर्माण कार्य बन्द हुने परिस्थितिका विषयमा अवगत गराउँदै ज्ञापन पत्र दिइ देशभरका जिल्ला प्रशासन कार्यालयमा आधा घण्टा धर्ना दिइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए।

महासचिव घिमिरेका अनुसार जिल्ला संघहरूले शुक्रवार र आगामी सोमवार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन र सिंचाई कार्यालयहरूमा ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिनेछन्।

विरोधकै कार्यक्रमअन्तर्गत सात प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाहीले बताए। 


प्रकाशित : बिहीबार , वैशाख ३१ २०८३१६:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend