आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बन्दीपुर अस्पताललाई ४० लाख मूल्यको उपकरण सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३१ २०८३
बन्दीपुर अस्पताललाई ४० लाख मूल्यको उपकरण सहयोग

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित बन्दीपुर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न सङ्घसंस्था र व्यवसायीले करिब ४० लाख रुपैयाँ बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन्।

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित बन्दीपुर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न सङ्घसंस्था र व्यवसायीले करिब ४० लाख रुपैयाँ बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन्। 

लायन्स क्लब अफ चितवन चौतारी र भरतपुरस्थित लोयल ट्रेडर्सले अस्पतालको प्रयोगशालाका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिनहरू बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब २० लाख रुपैयाँ मूल्यका 'क्लिया' र 'पिटी/आइएनआर' मेसिन उपलब्ध गराएको छ। 

यी मेसिनको मद्दतले अब बन्दीपुरमै थाइराइड, भिटामिन डी, भिटामिन बी-१२, पाठेघरको क्यान्सर (सिए १२५) र प्रोस्टेट क्यान्सर (पिएसए) जस्ता जटिल हर्मोनजन्य समस्याको परीक्षण सम्भव हुनेछ। साथै, रगत जम्नेसम्बन्धी समस्या, मुटुरोग र सर्प वा अरिङ्गालले टोकेका बिरामीको परीक्षणमा समेत यी उपकरण उपयोगी हुनेछन्।

त्यसैगरी, लोयल ट्रेडर्सले पनि करिब २० लाख रुपैयाँ बराबरका पूर्ण रूपमा स्वचालित जैविक रसायन (बायोकेमेस्ट्री) र ‘हेमाटोलोजी एनालाइजर’ मेसिन सहयोग गरेको छ। बायोकेमेस्ट्री मेसिनमार्फत कलेजो, मिर्गौला, युरिक एसिड, एमाइलेज र लाइपेजको परीक्षण गरिनेछ भने ‘सिविसी एनालाइजर’ले शरीरमा रगतको मात्रा र रगतभित्रका विभिन्न सेलहरूको विस्तृत परीक्षण गरी रोग पहिचान गर्न सघाउने डा. गिरीले जानकारी दिए।

उपकरण हस्तान्तरण गर्दै लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दीपक बस्नेतले अब बन्दीपुर क्षेत्रका नागरिकले सामान्यदेखि विशेष स्वास्थ्य परीक्षणका लागि पोखरा, चितवन वा काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए। अत्याधुनिक उपकरण जडानसँगै अधिकांश जटिल परीक्षण सेवा अब स्थानीयस्तरमै उपलब्ध हुने उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्राप्त सहयोगले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। यस अस्पतालबाट बन्दीपुरका साथै तनहुँका भानु, व्यास, आँबुखैरेनी तथा छिमेकी जिल्ला गोरखा र लमजुङका नागरिकले समेत स्वास्थ्य सेवा लिन सक्ने उनले उल्लेख गरे।

हाल १५ शैया क्षमतामा सञ्चालन भइरहेको बन्दीपुर अस्पतालमा पछिल्लो एक वर्षमा २४ हजारभन्दा बढीले सेवा लिएका छन्। बिहान ७ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने विस्तारित बहिरङ्ग (ओपीडी) सेवाका कारण बिरामीलाई थप सहज भएको छ। वि.सं. २०२२ मा स्थापना भएको यस अस्पतालले निर्माणाधीन नयाँ भवन तयार भएसँगै सेवालाई थप विविधीकरण र गुणस्तरीय बनाउने योजना अघि सारेको छ।रासस


प्रकाशित : बिहीबार , वैशाख ३१ २०८३१४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend