काठमाडौं- नेपाललाई विश्वकै उत्कृष्ट वेलनेस (आरोग्य) पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न यहाँको मौलिक संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले विशेष जोड दिएका छन्।
नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी विज्ञ तथा सरकारी अधिकारीहरूले नेपालको प्राकृतिक स्वरूप नै वेलनेसका लागि विश्वमै अनुपम उपहार भएको धारणा राखेका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको जानकारी दिँदै सन् २०२७ लाई 'वेलनेस पर्यटन वर्ष' घोषणा गरिसकेको उल्लेख गरे। उनले २०२७ को पूर्वसन्ध्यामा आयोजित यस प्रकारका छलफलले आगामी कार्ययोजना र नीति निर्माणमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले वेलनेस केवल एउटा सेवा नभई जीवनशैली भएको बताए। उनले नेपालको संस्कृति, परम्परा र प्राकृतिक वातावरणले विश्वलाई नै स्वस्थ जीवनशैलीका लागि प्रेरित गर्न सक्ने दाबी गर्दै नेपालको प्रकृति र संस्कृति नै आरोग्य पर्यटनका लागि उत्कृष्ट स्रोत भएको स्पष्ट पारे।
कार्यक्रमकी मुख्य वक्ता एवं हङकङ पोलिटेक्निक विश्वविद्यालयकी सहायक डिन प्रा.डा. डेनिज क्युचकुस्ताले नेपाल सेक्रेड ल्याण्ड टु वेलनेस डेस्टिनेसन विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमै सक्षम रहेको बताइन्। उनले विश्वभरका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभवको खोजीमा रहेको उल्लेख गर्दै नेपालले वेलनेसका नयाँ अवधारणा आविष्कार गर्नुभन्दा यहाँ उपलब्ध मौलिक स्रोतहरूलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइन्।
योग गुरु डा. प्रकाश आचार्यले योग केवल शारीरिक व्यायाम नभएर समग्र जीवनशैली भएको बताउँदै आधुनिक जीवनशैलीका कारण ओझेलमा परेका मौलिक योग अभ्यास र प्राणायामको महत्त्वबारे चर्चा गरे। त्यस्तै, वेलनेस अभियन्ता प्रेणा शाहले नेपाललाई केवल ट्रेकिङ गन्तव्यका रूपमा मात्र नभई विश्वकै ठूलो उद्योगका रूपमा विकास भइरहेको वेलनेस गन्तव्यका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले नेपाली संस्कृति, खानपान र दैनिक जीवनशैलीमै मौलिक आरोग्य अभ्यास रहेकाले अन्य देशको नक्कल गर्नुको सट्टा आफ्नै मौलिकता जोगाउनुपर्ने धारणा राखिन्।
साउण्ड हिलिङ सेसनबाट सुरु भएको उक्त कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, मन्त्रालयको पर्यटन महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरे, पर्यटन व्यवसायी, योग तथा वेलनेस विज्ञहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण गर्दै बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले अशान्त विश्वले शान्ति र आरोग्य खोजिरहेको वर्तमान समयमा नेपाललाई वेलनेस पर्यटनको उत्कृष्ट केन्द्र बनाउन बोर्डले सक्रिय भूमिका खेलिरहेको जानकारी दिए।
