मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

राजनीतिमा संलग्न भए जागिरबाट हटाइने चेतावनी, निजामती कर्मचारीलाई सरकारको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ३० २०८३
राजनीतिमा संलग्न भए जागिरबाट हटाइने चेतावनी, निजामती कर्मचारीलाई सरकारको निर्देशन

मन्त्रालयले सम्पूर्ण निजामती कर्मचारीलाई अनुशासन तथा आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न र कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिएको छ। मन्त्रालयले सूचना जारी गर्दै राजनीतिमा सक्रिय भए कानूनअनुसार कारबाही गरी जागिरबाट हटाउन सकिने चेतावनी दिएको हो।

मन्त्रालयले नेपालको संविधान तथा प्रचलित कानूनले निजामती सेवालाई राजनीतिकरूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको उल्लेख गरेको छ।

सूचनामा निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार निजामती कर्मचारी राजनीतिमा संलग्न भए 'भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने' व्यवस्था रहेको स्मरण गराइएको छ।

मन्त्रालयले सम्पूर्ण निजामती कर्मचारीलाई अनुशासन तथा आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न र कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

साथै निजामती सेवाको तटस्थता, निष्पक्षता र विश्वसनीयता कायम राख्न पनि निर्देशन दिइएको छ।

सूचनाअनुसार कुनै निजामती कर्मचारी राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनको सदस्य बनेमा, राजनीतिक गतिविधिमा सहभागी भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा कानूनबमोजिम कारबाही गरिनेछ।

मन्त्रालयका शाखा अधिकृत विवेक विहारीद्वारा जारी सूचनामा निजामती कर्मचारीलाई कानूनी सीमाभित्र रहेर मात्रै काम गर्न सचेत गराइएको छ।


प्रकाशित : बुधबार, वैशाख ३० २०८३१८:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend