काठमाडौं- सुकुम्बासीमाथि राज्यले दमन गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ।
संयुक्त संघर्ष समितिले बुधबार काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमाथिको दमन, बढ्दो महँगी र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेपविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुम्बासीमाथि दमन गरिरहेको आरोप लगाए।
उनले सुकुम्बासीको समस्या समाधान गर्नुको सट्टा राज्यले बल प्रयोग र दमनलाई प्राथमिकता दिएको त्यसका विरुद्ध नागरिक समाज र मानव अधिकारकर्मीहरु एकजुट भएर विरोध गर्नुपर्ने बताए।
हिङमाङले नेपालमा गरिब, भूमिहीन र निमुखा नागरिकमाथि पञ्चायतकालदेखि नै निरन्तर दमन हुँदै आएको दाबी गर्दै वर्तमान व्यवस्थामा पनि त्यही प्रवृत्ति दोहोरिनु दुःखद् भएको बताए।
‘आज विदेशीको इसारामा दलाली गरिरहेको सरकारले सुकुम्बासीको समस्या हल गर्ने कुरा थिएन । उसले बर्बर दमन मच्चाएर आज सुकुम्बासीमाथि अत्याचार मच्चाएको छ। यसका विरुद्धमा सुकुम्बासीहरुको पक्षमा हामी राजनीतिक शक्तिहरु, संयुक्त संघर्ष समितिमा आवद्ध राजनीतिक शक्तिहरु राज्यको यस कदमको घोर विरोध गर्न चाहन्छौँ' उनले भने।
'नेपालमा गरिब र निमुखा नागरिकमाथि निरन्तर रुपमा दमन हुँदै आएको छ। हिजो पञ्चायत कालमा पनि यस्तो दमन भयो, बहुदलमा पनि यस्तो दमन भयो। र गणतन्त्र भनिने पूँजीवादी व्यवस्थाभित्र पनि यो दमन भइरहेको छ। यसको मुख्य दोषि यो राज्य व्यवस्था हो । यसका विरुद्धमा नलाग्ने हो भने गरिब र सुकुम्बासी र अव्यवस्थितमाथिको दमन नरोकिने हाम्रो आँकलन छ' उनले भने।
सरकारले थापाथली, गैरीगाउँ, मनोहरा, शान्तिनगर, बालाजु, बसुन्धरा, बल्खु, सिनामंगल, कालीमाटी, धोबिखोला, टेकु, माछापोखरीलगायत क्षेत्रमा सुकुम्बासी बस्तीमा डोजर लगाएको थियो। पहिले सुकुम्बासी यकिन गरेर बासस्थानको व्यवस्था गरी डोजर चलाउनुपर्ने आवाज उठिरहे पनि सरकारले पहिले बस्ती भत्काएर सुकुम्बासीको व्यवस्थापन थालेको थियो।
