काठमाडौं- स्मार्ट सेलको सम्पत्ति गैरकानूनी लिलामी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। उनलाई मंगलबार राति ८ बजे पक्राउ गरिएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० बैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्न स्मार्ट सेलले अनुमति लिएको थियो। तर उक्त कम्पनीले नियमानुसार अनुमतिपत्र नवीकरण गरेको थिएन। नवीकरण नगरेपछि उक्त अनुमतिपत्र स्वत: रद्द हुने कानूनी व्यवस्था छ। 'दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९' को 'नियम १८' अनुसार सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइसकेको सम्पत्तिलाई बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले गैरकानूनी रूपमा लिलामी गरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप उनीहरूमाथि छ।
नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा लोन रिकभरी कमिटिको अध्यक्षसमेतको हैसियतमा लिलामी प्रक्रियामा संलग्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिइ सञ्चालन भएको स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम अनुमतिपत्र स्वतः रद्द भएकोमा दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा नै हुनुपर्ने जनाइएको छ।
साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लिलामीको सूचना निकाल्ने क्रममा 'लिलाम बिक्री गरिने दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरण लगायतका सामाग्रीहरु जडान भएका घरजग्गा धनीहरुलाई स्मार्टसेलले बुझाउनु पर्ने बाँकी घरवहाल र विद्युत महसुल रकमसमेत ४० करोड एकमुष्ठ रकम कबुल गरी बोलपत्र पेस गर्नु पर्ने' भनी उल्लेख गरी बोलपत्र पेस गर्न सूचना प्रकाशित भएकोमा सो रकम बैंकले लिइ हालसम्म घरधनीलाई घरबहालको साथै विद्युत महसुलसमेत नतिरी मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात गरेको सीआईबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए।
