मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भारतले सुन र चाँदीको भन्सार शुल्क बढाउँदै : ६ बाट १५ प्रतिशत पुर्‍याउँदै

आयात नियन्त्रण र सञ्चिति बनाउने लक्ष्य

बुधबार, वैशाख ३० २०८३
भारतले सुन र चाँदीको भन्सार शुल्क बढाउँदै : ६ बाट १५ प्रतिशत पुर्‍याउँदै

भारत विश्वको दोस्रो ठूलो सुन खपत गर्ने देश हो। भन्सार शुल्कमा गरिएको यो वृद्धिसँगै भारतीय बजारमा सुनको मूल्य प्रतितोला नै हजारौं रुपैयाँले महँगिने अनुमान गरिएको छ।

काठमाडौं- भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क बढाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि सुन कम खरिद गर्न आफ्ना नागरिकलाई खुला आह्वान गरेका थिए। 

त्यसलगत्तै भारत सरकार सुन र चाँदी आयातमा लाग्ने भन्सार शुल्क बढाउने तयारीमा पुगेको हो। हाल भारतमा सुन तथा चाँदी आयातमा ६ प्रतिशत भन्सार लाग्दै आएको छ। यसलाई बढाएर १५ प्रतिशत बनाउने तयारी भइरहेको छ। 

त्यस्तै प्लाटिनियम आयातमा लाग्दै आएको भन्सार शुल्क ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाउन लागिएको छ।

पश्चिम एसियामा देखिएको तनाव लम्बिँदै जाँदा भारतले विदेशी मुद्रा सञ्चिति बदाउन र विलासी आयात नित्रन्त्रण गर्न लागेको द इकोनोमिक टाइम्सले लेखेको छ। 

भारत सरकारले सुन तथा चाँदीमा आधारभूत भन्सार शुल्क १० प्रतिशत र ५ प्रतिशत कृषि पूर्वाधार र विकास उपकर लगाउन लागेको हो। समग्रमा अब सुन तथा चाँदी आयात गर्दा १५ प्रतिशत भन्सार लाग्नेछ। 

बढ्दो व्यापार घाटालाई कम गर्न र अमेरिकी डलरको तुलनामा निरन्तर कमजोर भइरहेको भारतीय रुपैयाँलाई स्थिरता दिन सरकारले यो कदम चालेको हो।

भारत विश्वको दोस्रो ठूलो सुन खपत गर्ने देश हो। भन्सार शुल्कमा गरिएको यो वृद्धिसँगै भारतीय बजारमा सुनको मूल्य प्रतितोला नै हजारौं रुपैयाँले महँगिने अनुमान गरिएको छ। यसले विवाहको सिजनमा गहना खरिद गर्ने उपभोक्ताहरू र ठूला सुन व्यवसायीहरूलाई प्रत्यक्ष असर पार्नेछ।

यो कदमले छोटो समयका लागि सुनको माग घटाउन सक्ने विज्ञहरूले बताइरहेका छन् तर यसले अनधिकृत बाटोबाट हुने सुनको ओसारपसारलाई भने बढावा दिन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

भारत सरकारले यसअघि गत महिना सुन तथा चाँदीमा ३ प्रतिशत गुड्स एन्ड सर्भिस कर लगाएको थियो। जसका कारण गएको अप्रिलमा भारतमा सुन आयात ३० वर्षयताकै न्यून भएको थियो। 


प्रकाशित : बुधबार, वैशाख ३० २०८३११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend