काठमाडौं- स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीच सदियौँदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध आयाममाथि विचारविमर्श भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।
भेटमा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावका लागि धन्यवाद व्यक्त गरिन्।
त्यसक्रममा नेपालका राष्ट्रियस्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रको स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोग र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो।
