मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एक वर्षदेखि नियन्त्रणमा रहेको महँगी बढ्न थाल्यो

बुधबार, वैशाख ३० २०८३
एक वर्षदेखि नियन्त्रणमा रहेको महँगी बढ्न थाल्यो

पश्चिम एसियामा तनावका कारण वैदेशिक रोजगारी प्रभावित भइ विप्रेषण घट्ने आँकलन गरिए पनि चैतसम्म विप्रेषण आप्रवाह भने उल्लेख्य रूपमा बढेको छ।

काठमाडौं- एक वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा रहेको उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) उकालो लाग्न थालेको छ। पश्चिम एसियामा तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिन थालेको हो।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत थियो।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मुद्रास्फीति ५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको भए पनि पछिल्ला महिनामा मूल्यवृद्धिको दबाब बढ्न थालेको संकेत देखिएको छ। २०८१ कात्तिकमा मुद्रास्फीति १.११ प्रतिशतसम्म झरेको थियो त्यसपछि क्रमशः मूल्यवृद्धिदर उकालो लाग्दै चैतमा ४.४७ प्रतिशत पुगेको हो।

नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष असर पार्ने गर्छ। इन्धन महँगिदा ढुवानी लागत बढ्ने, उत्पादन खर्च चर्किने र त्यसको प्रभाव खाद्यान्नदेखि निर्माण सामग्रीसम्म पर्ने भएकाले उपभोक्ता बजारमा महँगी थप बढ्ने अर्थविद्हरू बताउँछन्।

राष्ट्र बैंकका अनुसार चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत सबैभन्दा बढी मूल्यवृद्धि घ्यू तथा तेल उपसमूहमा देखिएको छ। यस उपसमूहको मूल्य सूचकांक १२.८७ प्रतिशतले बढेको छ। फलफूलको मूल्य ११.६७ प्रतिशत र तरकारीको मूल्य ९.१८ प्रतिशतले बढेको छ।

यद्यपि केही खाद्य वस्तुमा भने मूल्य घटेको देखिएको छ। दाल तथा गेडागुडी उपसमूहको मूल्य सूचकांक २.७८ प्रतिशतले घटेको छ भने खाद्य तथा खाद्यजन्य पदार्थ १.६८ प्रतिशत र मरमसला १.६४ प्रतिशतले सस्तिएको राष्ट्र बैंकले जनाएको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहमा सबैभन्दा बढी १९.९४ प्रतिशत मूल्यवृद्धि भएको छ। यातायात उपसमूहमा १२.०३ प्रतिशत, शिक्षामा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ४.७७ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पलमा ४.७३ प्रतिशत मूल्यवृद्धि भएको छ।

पश्चिम एसियामा तनावका कारण वैदेशिक रोजगारी प्रभावित भइ विप्रेषण घट्ने आँकलन गरिए पनि चैतसम्म विप्रेषण आप्रवाह भने उल्लेख्य रूपमा बढेको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्ममा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भइ १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण वृद्धि दर १०.२ प्रतिशत थियो।

चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। अमेरिकी डलरको विनिमयदर उच्च भएका कारण नेपाली रुपैयाँमा विप्रेषण रकम बढेको राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा गणना गर्दा चालु आर्थिक वर्षको चैतसम्म विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भइ ११ अर्ब ५५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि ७.५ प्रतिशत रहेको थियो।

महिनैपिच्छे बढ्दै मुद्रास्फीति

mahangi new.jpeg
 


प्रकाशित : बुधबार, वैशाख ३० २०८३०७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend