काठमाडौं- सांसदहरु साना-साना आयोजनाको विवरण बोकेर मन्त्रालयमा बजेट माग्न आइरहेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्। वाग्लेले सांसदहरूको चासो बजेटमा नै केन्द्रित रहेको बताएका छन्।
बजेट निर्माणको चरणमा सांसदहरूले कार्यक्रम माग गर्दै अर्थ मन्त्रालय आउने गरेको अनुभव आफूले गरेको उनले बताएका छन्। 'सांसदको चासो नीतिगतभन्दा पनि बजेटमा रहेको छ। बजेट माग गर्दै आउनुहुन्छ तर अर्थले बजेट राख्ने होइन सम्बन्धित मन्त्रालयबाट आउने हो। त्यसमा बजेट विनियोजन गर्ने हो' उनले भने।
सांसदहरू बजेट निर्माण प्रक्रियामा नीतिगत बहसभन्दा पनि साना-साना आयोजना बोकेर बजेट माग्न आइरहेको उनको भनाइ छ।
मंगलबार अर्थ समितिमा भएको छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले अहिले पनि सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका सडक, खानेपानी, सिँचाइ तथा अन्य खुद्रा योजनाका लागि बजेट माग आइरहेको बताएका हुन्। उनले अहिलेको अभ्यासअनुसार कुनैपनि आयोजना सम्बन्धित मन्त्रालयबाट प्रस्ताव भएरमात्रै अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा आउने व्यवस्था रहेको स्पष्ट पारे।
उनले सडक आयोजना भए भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी आयोजना भए खानेपानी मन्त्रालय तथा अन्य विषयगत आयोजना सम्बन्धित मन्त्रालयमार्फत नै अघि बढ्नुपर्ने सिद्धान्तमा सरकार अघि बढिरहेको बताए।
अर्थमन्त्री वाग्लेले संघीय बजेट अब ठूला नीतिगत प्राथमिकता, १६ औँ आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा शासकीय सुधारको रोडम्यापसँग मेल खाने योजनामा केन्द्रित हुनुपर्ने धारणा राखे। उनले सांसदहरूले उठाएका मागलाई साधन-स्रोतको सीमाभित्र रहेर न्यायोचितरूपमा सम्बोधन गर्ने प्रयास भइरहेको पनि बताए।
धेरै साना तथा स्थानीय प्रकृतिका आयोजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्नुपर्ने भएकाले संघीय बजेटमा समेट्न कठिन हुने गरेको उनको भनाइ छ। यद्यपि मन्त्रालयहरूले सांसदहरूले पठाएका प्रस्ताव र सुझावहरूलाई कुन हदसम्म संघीय बजेटमा समावेश गर्न सकिन्छ भन्नेबारे अभ्यास गरिरहेको उनले जानकारी दिए।
यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई बजेटका लागि मन्त्रालय नधाउन आग्रह गरेको थियो।
