काठमाडौं- न्यून लागतमा उपलब्ध युवा जनशक्ति, अंग्रेजी भाषामा काम गर्न सक्ने क्षमता र डिजिटल कामको विस्तारसँगै नेपाल विश्व आउटसोर्सिङ बजारको उदीयमान गन्तव्यका रूपमा देखिन थालेको छ। हालै सार्वजनिक ‘ग्लोबल आउटसोर्सिङ स्टाटिस्टिक्स २०२६’ प्रतिवेदनले नेपाललाई विश्वका प्रतिस्पर्धी आउटसोर्सिङ गन्तव्यमध्ये १९औं स्थानमा राखेको छ।
विश्वव्यापी रूपमा आउटसोर्सिङ उद्योगको आकार अहिले ३२८ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको अनुमान गरिएको छ। विकसित मुलुकका कम्पनीहरूले लागत घटाउन, दक्ष जनशक्ति सहज रूपमा प्राप्त गर्न र २४ घण्टा सेवा सञ्चालन गर्न विभिन्न काम बाह्य कम्पनी वा विदेशी जनशक्तिमार्फत गराउन थालेपछि यो उद्योग तीव्र रूपमा विस्तार भएको हो।
विशेषगरी अमेरिका, बेलायत, क्यानडा र अष्ट्रेलियाका कम्पनीहरूले सफ्टवेयर विकास, लेखा सेवा, ग्राहक सहायता, डिजिटल बजार प्रवर्द्धन, डाटा प्रशोधन तथा एआईसँग सम्बन्धित काम दक्षिण एशिया, दक्षिणपूर्वी एशिया र अफ्रिकी मुलुकतर्फ पठाइरहेका छन्।
प्रतिवेदनअनुसार आउटसोर्सिङ प्रतिस्पर्धात्मकतामा फिलिपिन्स पहिलो, मलेसिया दोस्रो र भारत तेस्रो स्थानमा छन्। त्यसपछि चिली, दक्षिण अफ्रिका, नाइजेरिया, पेरु, इन्डोनेसिया, अर्जेन्टिना र रोमानिया रहेका छन्। दक्षिण एशियाबाट भारतपछि नेपाल पनि सूचीमा समावेश भएको छ।
नेपालमा न्यून श्रम लागत, अंग्रेजी भाषाको क्षमता र विस्तार हुँदै गएको डिजिटल जनशक्ति रहेको उल्लेख गरिएको छ। प्रतिवेदन तयार गर्दा श्रम लागत, अंग्रेजी भाषाको दक्षता, दक्ष जनशक्तिको उपलब्धता, डिजिटल पूर्वाधार तथा राजनीतिक र व्यावसायिक स्थायित्वलाई आधार बनाइएको जनाइएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा सफ्टवेयर आउटसोर्सिङ, भर्चुअल सहायक सेवा, लेखा सहायता, कल सेन्टर सञ्चालन तथा कृत्रिम बौद्धिकतासम्बन्धी डाटा व्यवस्थापनका काम तीव्र रूपमा बढिरहेका छन्।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिस कम्पनीज (एनएएस–आईटी) का अनुसार नेपालको सूचना प्रविधि तथा आउटसोर्सिङ सेवा निर्यातबाट वार्षिक करिब एक अर्ब अमेरिकी डलर बराबर आम्दानी भइरहेको अनुमान छ। विभिन्न अध्ययनहरूले यस क्षेत्रमा प्रत्यक्ष रूपमा ६० हजारभन्दा बढी नेपाली संलग्न रहेको देखाएका छन्।
विशेषगरी ‘रिमोट वर्क’ संस्कृतिको विस्तारसँगै नेपाली युवाहरूले नेपालमै बसेर अमेरिकी, युरोपेली तथा अष्ट्रेलियन कम्पनीका लागि काम गर्ने क्रम बढेको छ। अपवर्क, फाइभर र टपटलजस्ता अन्तर्राष्ट्रिय डिजिटल श्रम बजारमा नेपाली जनशक्तिको उपस्थिति विस्तार भइरहेको छ।
उद्योगका जानकारहरूका अनुसार नेपालले भारत वा फिलिपिन्सजस्तो ठूलो परिमाणमा प्रतिस्पर्धा गर्न नसके पनि साना तथा मध्यम स्तरका अन्तर्राष्ट्रिय कम्पनीका लागि कम लागतमा दक्ष जनशक्ति उपलब्ध गराउने गन्तव्यका रूपमा सम्भावना देखाएको छ।
यद्यपि यस क्षेत्रको दीर्घकालीन विस्तारका लागि अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सहज बनाउने, स्थिर कर नीति ल्याउने, डाटा सुरक्षासम्बन्धी कानून निर्माण गर्ने तथा डिजिटल पूर्वाधार सुदृढ गर्ने आवश्यकता रहेको उद्योगीहरूको भनाइ छ।
