काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यो गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो।
गत वर्ष २०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए। यस वर्ष परीक्षामा सहभागी कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी विद्यार्थीले ३.६० देखि ४.०० सम्मको जीपीए हासिल गरेका छन्।
बोर्डका अनुसार उक्त जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ। त्यस्तै, ३.२० देखि ३.६० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० सम्म जीपीए ल्याउने विद्यार्थी ९४ हजार २२२ रहेका छन्। २.४० देखि २.८० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ९७७ रहेको बोर्डले जनाएको छ ।
यस्तै, २.०० देखि २.४० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेको छ भने १.६० देखि २.०० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना मात्रै रहेको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी वर्गीकृत विद्यार्थी बागमती प्रदेशमा रहेका छन्।
बागमतीमा ७७ हजार ११३ विद्यार्थी ग्रेडेड भएका छन्। कोशी प्रदेशमा ५० हजार ८९०, मधेश प्रदेशमा ४४ हजार ५९२, गण्डकी प्रदेशमा २६ हजार ५५०, लुम्बिनी प्रदेशमा ४४ हजार २५६, कर्णाली प्रदेशमा १९ हजार ९५ तथा सुदूरपश्चिम प्रदेशमा २१ हजार ६६४ विद्यार्थी वर्गीकृत भएका छन्।
सरकारले ३० दिनभित्र एसईई नतिजा सार्वजनिक गर्न दिएको निर्देशनअनुसार बोर्डले २९ दिनमै नतिजा सार्वजनिक गरेको हो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।
विगतका वर्षहरूमा एसईई नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरेको थियो। विद्यार्थीलाई लामो समयसम्म तनावमा बस्न नपरोस् भन्ने उद्देश्यले सरकारले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो।
