काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा साझा पूर्वाधारसहित औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
नीति तथा कार्यक्रममा विशेष आर्थिक क्षेत्रहरूको विकासलाई सँगै अघि बढाउँदै उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ। त्यसका लागि साझा पूर्वाधारसहित औद्योगिक ग्राम स्थापना गरिने उल्लेख गरिएको छ।
सरकारले आगामी वर्ष हरित बजार गाउँ (ग्रिन मार्केट भिलेज), सूचना प्रविधि (आईटी) पार्क तथा कृषि उत्पादन केन्द्रहरू स्थापना गर्ने योजना पनि अघि सारेको छ।
यी पूर्वाधारमार्फत उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनलाई गति दिइने सरकारको अपेक्षा छ। सरकारले औद्योगिक विकासलाई क्षेत्रीय सन्तुलनसहित अघि बढाउने नीति लिएको जनाएको छ।
