काठमाडौं- व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्ने लगानी एक्सप्रेस नीति लागु गरिने कार्यक्रम सरकारले अघि सारेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको तर्फबाट तय भएको नीति तथा कार्यक्रम संघीय संसद संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
विदेशी लगानीसम्बन्धी कानून संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने जनाइएको छ।
नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने उल्लेख छ।
विशेष आर्थिक क्षेत्रहरूको विस्तार तथा साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गरिने जनाइएको छ।
ग्रिन मार्केट भिलेज, सूचना प्रविधि पार्क, कृषि उत्पादन केन्द्र लगायत उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रहरूको विकास गर्दै त्यस्ता क्षेत्रलाई औद्योगिक पर्यटनसँग आबद्ध गरिने जनाइएको छ।
