काठमाडौं- सरकारले पुँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
नीति तथा कार्यक्रममा पुँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने लक्ष्यसहित पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फन्ड तथा गैरआवासीय नेपालीलाई बजारमा आकर्षित गरिने उल्लेख गरिएको छ।
सरकारले पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने नीति पनि अघि सारेको छ। त्यसका लागि धितोपत्र नियमन प्रणाली, नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै ऋण बजार, बन्ड बजार तथा पूर्वाधार बन्डको विकासमार्फत दीर्घकालीन पुँजी निर्माण गरिने सरकारको योजना छ। सरकारले वित्तीय क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित पुँजी बजार सुधारका कार्यक्रम अघि सारेको जनाएको छ।
