काठमाडौं- सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले समर्थन मूल्य कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने जनाएको हो।
राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिक्षेत्रलाई उत्पादनमुखी, व्यवस्थित र प्रविधिमैत्री बनाउने नीति लिइएको बताएका हुन्।
नीति तथा कार्यक्रममा किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गरिने उल्लेख छ। साथै समर्थन मूल्यअनुसार खरिद तथा भुक्तानी प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन डिजिटल प्रणाली लागू गरिने जनाइएको छ।
सरकारले कृषकलाई समयमै भुक्तानी उपलब्ध गराउन रकम सिधै बैंक खातामा पठाउने व्यवस्था गरिने तथा कृषि उत्पादन, बजारीकरण र भण्डारण प्रणालीलाई थप व्यवस्थित बनाइने जनाएको छ।
