काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार’लाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसाथ गर्ने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
सरकारले डिजिटल प्रविधिमा आधारित अर्थतन्त्र विस्तार, सेवा तथा बौद्धिक सम्पत्तिमा आधारित व्यापार प्रवर्द्धन र सीमापार डिजिटल कारोबारलाई सहज बनाउने लक्ष्यसहित उक्त अवधारणा अघि सारेको जनाएको छ।
नीति तथा कार्यक्रममा सूचना प्रविधि, डिजिटल सेवा, नवप्रवर्द्धन, ई–कमर्स तथा ज्ञानमा आधारित उद्योगलाई प्रोत्साहन गर्दै परम्परागत व्यापार प्रणालीलाई आधुनिक बनाइने उल्लेख गरिएको छ।
सरकारले विश्वव्यापी डिजिटल अर्थतन्त्रसँग नेपालको पहुँच विस्तार गर्दै लगानी, व्यापार र सेवा निर्यात बढाउने उद्देश्यका साथ यस्तो रणनीति अघि बढाएको जनाएको छ।
