काठमाडौं- एकल बहुमतको सरकार बनेपछि नेपालमा अवरोध हटाउँदै बलियो मध्यकालीन आर्थिक वृद्धिको अवसर रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा कार्यदलले निष्कर्ष निकालेको छ।
जोनाथन पाम्पोलिनाको नेतृत्वमा रहेको क्षमता विकास टोलीले गरेको पछिल्लो भ्रमणपछि जारी विज्ञप्तिमा आर्थिक विकासका लागि अवरोधक ठानिएका भ्रष्टाचार हटाउँदै सो विकासको लय समाउने अवसर उपलब्ध रहेको उल्लेख गरिएको छ।
शासन तथा भ्रष्टाचार निदानसम्बन्धीको परियोजनाअन्तर्गत पछिल्लो छ महिनामा दुईपटक भ्रमण भएको थियो। भ्रमणका क्रममा टोलीले सरकारी, गैसरकारी क्षेत्रका प्रतिनिधिसँग छलफल गरिएको थियो।
नेपालले सुशासन सुदृढीकरण, भ्रष्टाचारका जोखिम न्यूनीकरण तथा समष्टिगत आर्थिक स्थायित्व र समावेशी वृद्धि प्रवर्द्धनका लागि आईएमएफसँग गरेको सहकार्यको एक महत्त्वपूर्ण कोसेढुंगा बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
संस्थागत संरचना, नीतिहरू र अभ्यासहरूमा रहेका समष्टिगत रूपमा संवेदनशील सुशासन कमजोरीहरूको पहिचान गर्नु यो कार्यक्रमको उद्देश्य रहेको कोषले जानकारी दिएको छ।
आर्थिक कार्यसम्पादन, बलियो ढुकुटी, व्यवसाय तथा लगानी वातावरण र सार्वजनिक विश्वासलाई कमजोर बनाउने प्रवृत्तिको पहचान गर्दै निदानका लागि सुझाव दिनका लागि यो टोलीले अध्ययन गरेको हो।
