बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चितवनका दुग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
चितवनका दुग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी

नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरु भुक्तानीमा समस्या देखिएपछि पुनः निरास बनेका छन्। संघले भुक्तानीमा समस्या देखिएसँगै आफ्नो उत्पादनलाई बजारीकरण गर्न तीन स्थानमा डेरी मार्ट सञ्चालनमा ल्याएको छ।

चितवन- चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड रुपैयाँ भुक्तानी पाउन सकेका छैनन्। दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरुले सो रकम पाउन नसकेका हुन्।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुस महिना देखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरुले तीन महिनादेखिको भुक्तानी गरेका छैनन्। उनका अनुसार जिल्लाबाट दूध लैजाने उद्योगमध्ये २५ प्रतिशतले नियमित भुक्तानी गर्ने गरेको भए पनि अन्यले भुक्तानी नदिँदा किसानहरु मर्कामा परेका हुन्।

जिल्लामा दैनिक ३५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ।

नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरु भुक्तानीमा समस्या देखिएपछि पुनः निरास बन्न थालेको उनले बताए। संघले भुक्तानीमा समस्या देखिएसँगै आफ्नो उत्पादनलाई बजारीकरण गर्न तीन स्थानमा डेरी मार्ट सञ्चालनमा ल्याएको छ। भरतपुर महानगरपालिका-१० को दूरसञ्चार रोड, चितवन मेडिकल कलेज पछाडि र वडा नम्बर ३ को बेलचोकमा मार्ट सञ्चालनमा ल्याएको हो।

संघको रत्ननगरमा रहेको आफ्नै डेरी उद्योगबाट उत्पादित दुग्धजन्य वस्तुहरु मार्टमार्फत सेवाग्राहीमाझ पुर्‍याउने काम गर्दै आएको उनले बताए। मार्टमा दूध, घ्यू, पनिर, नौनी, खुवा, मोहीलगायतका सामग्री बिक्री वितरण गर्दै आएको उनले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१३:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend