बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगो, सबै यात्रु सकुशल

सोमबार, वैशाख २८ २०८३
त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगो, सबै यात्रु सकुशल

टर्किस एयरलाइन्सको एउटा जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ।

काठमाडौं- टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएपछि विमानस्थल केही समयका लागि बन्द गरिएको छ।

आज बिहान करिब पौने ७ बजेतिर इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको उक्त जहाज अवतरणका क्रममा पछाडिको ल्यान्डिङ गियरमा फायर अलार्म देखिएको र त्यसपछि आगो देखापरेको विमानस्थल जनाएको छ।

जहाजमा २७७ जना यात्रु र ११ जना चालक दलका सदस्य सवार थिए। आगो देखिएलगत्तै जहाजलाई रनवेमै रोकेर आपत्कालीन उद्धार प्रक्रिया सुरु गरिएको नेपाल नागरिक उड्ययन प्राधिकारणका सूचना अधिकारी  ज्ञानेन्द्र भुलले जानकारी दिए।

जहाजको इमर्जेन्सी ढोका खोलेर यात्रुहरुलाई तत्काल बाहिर निकालिएको थियो। विमानस्थलमा तयारी अवस्थामा रहेका दमकल परिचालन गरी केही समयमै आगो नियन्त्रणमा लिइएको जनाइएको छ।

घटनापछि विमानस्थल क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो। सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको विमानस्थलले जनाएको छ।

हाल जहाजलाई विशेष उपकरणमार्फत तानेर पार्किङ वेतर्फ लैजाने काम भइरहेको छ। आगलागीका कारण रनवे प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ।

प्रारम्भिक रूपमा ल्यान्डिङ गियर क्षेत्रमा समस्या देखिएको भए पनि आगलागीको वास्तविक कारण, प्राविधिक अवस्था तथा जहाजमा आएको खराबीबारे विस्तृत अनुसन्धान भइरहेको विमानस्थलले जनाएको छ।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३०७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend