बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सरकारले जारी गरेका सबै अध्यादेश आज संसद्मा प्रस्तुत गरिँदै

सोमबार, वैशाख २८ २०८३
सरकारले जारी गरेका सबै अध्यादेश आज संसद्मा प्रस्तुत गरिँदै

सरकारले हालै जारी गरेका सबै अध्यादेश आजदेखि सुरु हुने सङ्घीय संसद्को बजेट अधिवेशनमा प्रस्तुत गर्ने भएको छ।

काठमाडौं- सरकारले हालै जारी गरेका सबै अध्यादेश आजदेखि सुरु हुने सङ्घीय संसद्को बजेट अधिवेशनमा प्रस्तुत गर्ने भएको छ। अधिवेशनको पहिलो दिन नै सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित अध्यादेश प्रतिनिधिसभामा टेबल गर्न लागेको हो।

आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाह सहित विभिन्न मन्त्रीहरुले सरकारले जारी गरेका अध्यादेश प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रस्तुत गर्नेछन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्नुहुनेछ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ सदनमा प्रस्तुत गर्ने छिन।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ प्रस्तुत गर्ने छिन भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्ने कार्यसूची रहेको छ।

सरकारले संसद् अधिवेशन नभएको अवधिमा विभिन्न कानुन संशोधन तथा नीतिगत व्यवस्था कार्यान्वयनका लागि अध्यादेश जारी गरेको थियो। संविधानअनुसार जारी भएका अध्यादेश संसद् बैठक सुरु भएपछि निश्चित समयभित्र संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेकाले सरकारले बजेट अधिवेशनको पहिलो दिनमै सबै अध्यादेश संसद्मा लैजान लागेको हो।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend