बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

आगामी पाँच वर्षकै रोडम्याप : बालेन सरकारको पहिलो नीति तथा कार्यक्रम आज

सोमबार, वैशाख २८ २०८३
आगामी पाँच वर्षकै रोडम्याप : बालेन सरकारको पहिलो नीति तथा कार्यक्रम आज

यस पटकको नीति तथा कार्यक्रममा प्रशासनिकभन्दा राजनीतिक र त्यसमा पनि अर्थमन्त्री तथा प्रधानमन्त्रीको टिमको संलग्नता धेरै रहेको छ।

काठमाडौं- गएको भदौको युवा विद्रोहको जगमा फागुन २१ मा भएको निर्वाचनबाट बहुमतसहित बनेको सरकारले आज पहिलो नीति तथा कार्यक्रम ल्याउँदैछ। 

राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्ने नीति तथा कार्यक्रमा सरकारले यसअघि नै सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्र र त्यसमा आएका फिडब्याकलाई समेटेर ल्याउने भएको छ। 

राष्ट्रिय मान्यताप्राप्त सबै दलका घोषणापत्रमा भएका व्यवस्थालाई समावेश गरेर सार्वजनिक गरिएको प्रतिबद्धतापत्रको मस्यौदा र त्यसमा आएका सुझावलाई समेट्दै सरकारले आधार वर्षका रूपमा नीति तथा कार्यक्रम ल्याउने भएको छ। 

सरकारको आगामी पाँच वर्षको लयलाई प्रतिबिम्बित गर्नेगरी नीति तथा कार्यक्रम तयार भएको र सोहीअनुसारका घोषणा हुने बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार पारेको नीति तथा कार्यक्रममा सामान्यत: एकवर्षका लागि कार्यक्रम र आगामी पाँच वर्षका लागि आधार वर्षका रूपमा सन्देश दिनेगरी कार्यक्रम आउने अधिकारीहरूले बताएका छन्। 

अघिल्लो मन्त्रिपरिषदको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रमका बारेमा मन्त्रीहरूलाई ब्रिफिङ गरेका थिए। लगभग त्यही आधारमा अन्तिम रूप दिइएको छ। 

संलग्न अधिकारीका अनुसार सुशासन, सेवा प्रवाह, आर्थिक विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम आउनेछ।

संरचागत सुधार गर्दै लगानीको वातावरण तयार पारिने र त्यसकै आधारमा विकास र रोजगारी सिर्जनाको मार्ग तय हुने उल्लेख गरिएको छ।

आर्थिक विकासका लागि सरकारले प्राथमिकता दिने र त्यसका लागि नीतिगत अग्रसरता तथा प्र‍ेरणा पनि घोषणा हुने छन्। नीति तथा कार्यक्रममा भएको घोषणाअनुसारको नीतिगत तथा संरचनागत सुधारको खाका, त्यसलाई साथ दिने बजेटसहितको रोडम्याप बन्ने सरकारसँग सम्बन्धित अधिकारीहरूले बताएका छन्।

यस पटकको नीति तथा कार्यक्रममा प्रशासनिकभन्दा राजनीतिक र त्यसमा पनि अर्थमन्त्री तथा प्रधानमन्त्रीको टिमको संलग्नता धेरै रहेको छ। 


प्रकाशित : सोमबार, वैशाख २८ २०८३०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend