काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ।
नतिजा प्रकाशनको अन्तिम चरणमा रहेको बोर्डले परीक्षार्थी र अभिभावकको सहजताका लागि नतिजा हेर्न सकिने विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ।
कार्यालयले जारी गरेको सूचना अनुसार यस वर्षको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र वेबसाइट गरी ३ वटै माध्यमबाट सजिलै प्राप्त गर्न सकिनेछ।
प्रविधिमार्फत नतिजा प्राप्त गर्न चाहने परीक्षार्थीहरूका लागि नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस, यूएसएसडी र आईभीआर सेवा मार्फत नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ भने जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा एसएमएस पठाएर पनि नतिजा थाहा पाउन सकिनेछ।
यसैगरी इन्टरनेटको पहुँच भएकाहरूका लागि विस्तृत नतिजा र मार्कसिट डाउनलोड गर्न सरकारी तथा निजी क्षेत्रका विभिन्न पोर्टलहरूलाई अनुमति दिइएको छ।

