काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ।
आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता, प्राथमिकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यले उक्त डिजिटल प्लेटफर्म सुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
यस पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, निजी क्षेत्र, सरोकारवाला तथा नीति निर्माताले बजेट निर्माण, विकासका प्राथमिकता, सार्वजनिक सेवा प्रवाह र सुधारका विषयमा आफ्ना राय–सुझाव सिधै सरकारसमक्ष पेश गर्न सक्नेछन्। सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेराभित्र मात्र सीमित नराखी आम नागरिकको अनुभव, भावना र विज्ञतालाई समेट्ने प्रधानमन्त्रीको योजनाअनुरूप यो पहल गरिएको बताइएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपक दाहालका अनुसार उक्त पोर्टलले नागरिक र राज्यबीचको दूरी घटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्नेछ। प्राप्त सुझावलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी आवश्यक नीतिगत निर्णयमा समावेश गरिने उनले बताए।
पोर्टलमा नागरिकले दिएका सुझावको अवस्था, समीक्षा प्रक्रिया र सरकारले चालेका कदमबारे जानकारी लिन सकिने गरी ‘सुझाव ट्र्याक’ गर्ने विशेष सुविधा समेत राखिएको छ।
सरकारले ‘समृद्ध नेपाल’ निर्माणको अभियानमा रचनात्मक सहभागिता जनाउन सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ। नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टल प्रयोग गरी आफ्ना सुझाव प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन्।
