काठमाडाैं- नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ।
सार्वजनिक विवरण अनुसार काेषकाे नाफामा सुधार भएको छ। कोषले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस अवधिमा ९८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको ८१ करोड ९० लाख रुपैयाँको तुलनामा ९.६८ प्रतिशतले बढी हो।
कोषको आम्दानीको मुख्य स्रोतका रूपमा रहेका सेवा शुल्क, कमिसन र ब्याज आम्दानीमा पनि वृद्धि देखिएको छ। गत वर्ष १ अर्ब ५२ करोड रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। व्यवस्थापन तथा सञ्चालन खर्चलाई सन्तुलित राख्न सफल भएकाले कोषको कर अघिको नाफा १ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ।
वित्तीय अवस्थालाई हेर्दा कोषको कुल स्रोत ३ खर्ब ३० अर्ब ५९ करोड रुपैयाँ पुगेको देखिन्छ। जसमा विभिन्न अवकाश कोष र खुल्लामुखी सामूहिक लगानी योजनाको विशेष भूमिका रहेको छ।
संकलित ठूलो पुँजीमध्ये कोषले ३ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ। यस लगानीको ठूलो हिस्सा अर्थात् १ सय ३४ अर्ब ३५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राखिएको छ भने बाँकी रकम नेपाल सरकारको ऋणपत्र र विभिन्न संगठित संस्थाको सेयर तथा डिबेन्चरहरूमा लगानी गरिएको छ।
