काठमाडौं- इरान र अमेरिकाबीच पुनः शान्ति वार्ता सुरु हुन सक्ने संकेत देखिएपछि बिहीबार विश्व बजारमा तेल तथा सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले पछिल्लो २४ घण्टामा इरानसँग 'धेरै राम्रो वार्ता' भएको दाबी गरेपछि केही समयका लागि तेलको मूल्य घटेको थियो। तर, इरानी अधिकारीहरूले अमेरिकी प्रस्ताव अझै अध्ययनकै चरणमा रहेको र आफ्नो धारणा पाकिस्तानमार्फत पठाइने बताएपछि बजार पुनः अनिश्चित बनेको हो।
विश्व बजारमा कच्चा तेलको प्रमुख सूचक ब्रेन्ट क्रुडको मूल्य बिहीबार कारोबार बन्द हुँदा १ दशमलव २ प्रतिशतले घटेर प्रतिव्यारेल १०० डलर आसपास पुगेको थियो। अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडियट पनि ० दशमलव ३ प्रतिशतले घटेर ९६ दशमलव ३१ डलरमा झरेको थियो। यद्यपि कारोबार बन्दपछिको सत्रमा दुवै सूचक पुनः सामान्य रूपमा उकालो लागेका थिए।
यसअघि बुधबार मात्रै ब्रेन्ट क्रुडको मूल्य ८ प्रतिशत र वेस्ट टेक्सास इन्टरमिडियट ७ प्रतिशतले घटेको थियो। बजार विश्लेषकहरूका अनुसार युद्ध चर्किने जोखिम कम हुने सम्भावनाले केही समयका लागि लगानीकर्तामा राहतको भावना पैदा गरेको हो।
दुबईस्थित स्काइ लिंक्स क्यापिटल ग्रुपका प्रमुख कार्यकारी अधिकृत ड्यानियल ताकिएद्दिनले तनाव कम हुने संकेतले पछिल्ला साताहरूमा बजारमा देखिएको मुद्रास्फीतिको चिन्ता केही हदसम्म कम गरेको बताएका छन्। उनका अनुसार अब लगानीकर्ताको ध्यान अमेरिकी रोजगारी बजारतर्फ केन्द्रित भएको छ।
अमेरिकी सेयर बजार पनि बिहीबार दबाबमा देखियो। एस एन्ड पी ५०० सूचक ० दशमलव ४ प्रतिशतले घटेको छ। यद्यपि कृत्रिम बुद्धिमत्ता क्षेत्रमा काम गर्ने ठूला प्रविधि कम्पनीहरूको बलियो आम्दानीका कारण सूचक अझै ऐतिहासिक उच्च बिन्दुनजिक कायम छ।
एसियाली बजारमा भने मिश्रित प्रभाव देखिएको छ। जापानको निक्की २२५ सूचक ६ प्रतिशतले बढ्दा दक्षिण कोरियाको कोस्पी तथा हङकङको ह्याङ सेङ सूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्। युरोपमा भने स्टक्स युरोप ६०० र जर्मनीको ड्याक्स सूचक एक प्रतिशतभन्दा बढीले घटेका छन्।
तेल बजारको अस्थिरताको प्रत्यक्ष असर अमेरिकी इन्धन बजारमा समेत देखिएको छ। एएएका अनुसार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ दशमलव ५६ डलरसम्म पुगेको छ, जुन युद्ध सुरु भएयता ५३ प्रतिशतले बढी हो। डिजेलको औसत मूल्य पनि प्रतिग्यालन ५ दशमलव ६७ डलर कायम रहेको छ।
विश्लेषकहरूका अनुसार तेलको मूल्यमा आउने उतारचढावले विश्वव्यापी मुद्रास्फीति, ढुवानी लागत र अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष असर पार्ने भएकाले लगानीकर्ता अहिले पश्चिम एसियको अवस्थालाई नजिकबाट नियालिरहेका छन्। विशेषगरी स्ट्रेट अफ होर्मुज क्षेत्रको सुरक्षा र तेल आपूर्ति अवरुद्ध हुने सम्भावनाले विश्व बजारलाई थप संवेदनशील बनाएको छ।
