बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

गौरीफन्टा नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २३ २०८३
गौरीफन्टा नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकामा पछिल्लो समय नेपाल सरकारले १ सयभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा नै किनमेल बढेको छ।

सुदूरपश्चिम- भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ।

पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकामा पछिल्लो समय नेपाल सरकारले १ सयभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा नै किनमेल बढेको छ।

यसरी नेपालतर्फको बजारमा चहलपहल बढ्नुका साथै व्यवसायमा पनि वृद्धि भएपछि नेपाली व्यवसायीहरू खुसी भएको बताएका छन्। उनीहरूले वर्षौँदेखि सुनसान रहने बजारमा पनि अहिले व्यापारिक गतिविधि बढ्न थालेको जानकारी गराएका हुन्।

विदेशबाट आयात हुने समानमा अधिकतम् खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गरिएपछि भन्सार कार्यालयको काम केही प्रभावित पनि भएको छ। कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सेनाले पेट्रोलिमय पदार्थमा ५० प्रतिशत छुट दिने सरकारको निर्णयले चैत महिनाको तुलनामा यो महिना पेट्रोलियममा मात्र ३० प्रतिशतले राजस्व सङ्कलन प्रभावित भएको बताए।

सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ताहरू मालवस्तु खरिद गर्न सीमापारि पुग्नुपर्ने सामान्य जस्तै थियो। तर अहिले भने भन्सारमा कडाइ गरिएपछि साइकलमा मालवस्तु भित्र्याउनेहरूको गतिविधि ह्वात्तै घटेको छ। 

भन्सारमा कडाइ गरिएपछि भारतको सीमावर्ती बजार बनगाउँमा चहलपहल घटेको छ। नेपाली उपभोक्तालाई लक्षित गरेर सञ्चालन गरिएको उक्त बजारमा किनमेल गर्नेमध्ये झण्डै ९० प्रतिशत उपभोक्ता यसअघिसम्म नेपाली थिए। बजारमा नेपाली मुद्रामा कारोबार पनि सहज रूपमा हुने गरेको छ।
 
यसरी दिनहुँ मालबस्तुमा भन्सार महसुल लिने कार्य राम्रो भए पनि विवाह, व्रतबन्ध र कतिपय घरायसी प्रयोजनका लागि भित्र्याइने सामानहरूमा भन्सार महसुल लिने कुरा केही व्यावहारिक बनाउनुपर्ने स्थानीय नागरिकको सुझाव छ। रासस

 


प्रकाशित : बुधबार, वैशाख २३ २०८३१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend