काठमाडौं- टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन प्रक्रिया अघि बढाएको हो।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशतले हुन आउने कुल ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये स्थानीयका लागि १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ३ हजार ६७ कित्ता सेयर सुरक्षित गरिएको थियो।
त्यस्तै, सामूहिक लगानी कोषलाई १ लाख ५१ हजार ५३३ कित्ता र कर्मचारीका लागि ६० हजार ६१३ कित्ता सेयर छुट्याएर बाँकी रहेको २५ लाख १५ हजार ४५५ कित्ता सेयर अहिले सर्वसाधारणका लागि खुला गरिएको हो।
इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा बैशाख २८ गते र ढिलोमा जेठ ६ गतेसम्म खुला रहनेछ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र 'मेरो सेयर' मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
केयर रेटिङ नेपालले यस कम्पनीलाई 'केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ' प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। ८ मेगावाट क्षमताको यस आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको छ भने कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष प्रक्षेपण गरिएको छ।
