काठमाडौं- सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय बनाएको छ। मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्दलाई झिकेर ‘भूमि प्रशासन कार्यालय’ लेखिएको छ।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा मालपोत कार्यालयको नामलाई पनि संशोधन गरेको हो।
उक्त ऐनको ठाउँठाउँमा रहेको मालपोत कार्यालय भन्ने शब्दको सट्टा भूमि प्रशासन कार्यालय भन्ने शब्द राखी रुपान्तरण गरिएको जारी अध्यादेशमा उल्लेख छ।
त्यस्तै मालपोत अधिकृतलाई ‘भूमि प्रशासन अधिकृत’ भनिने गरी ऐन संशोधन गरिएको छ।
सरकारको सिफारिसमा उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले गएको शनिबार जारी गरेका हुन्।
