बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

संसदीय समितिद्वारा नागढुंगा सुरुङमार्गको स्थलगत अनुगमन, छिटो सञ्चालनमा ल्याउन निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २२ २०८३
संसदीय समितिद्वारा नागढुंगा सुरुङमार्गको स्थलगत अनुगमन, छिटो सञ्चालनमा ल्याउन निर्देशन

अनुगमनका क्रममा निर्माण कम्पनीका प्रतिनिधिले निर्माण कार्यको प्रगति विवरणबारे जानकारी गराएका छन्।

काठमाडौं- राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले निर्माणाधिन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको स्थलगत अनुगमन गरेको छ।

समितिले मंगलबार बुहप्रतिक्षित नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्दै छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएको हो।

सुरुङमार्ग पाँच वर्षभित्र सञ्चालनमा ल्याउनेगरी चिनियाँ कम्पनी युसिन-एआरटी जेभीले निर्माण गरिरहेको छ। कुल २ दशमलव ६८ किलोमिटर लम्बाईको यस सुरुङमार्गमा दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएको छ।

मुख्य सुरुङमार्ग सवारीसाधन आवतजावतका लागि प्रयोग हुनेछ भने अर्को सुरुङ आपत्कालीन उद्धार तथा सुरक्षा प्रयोजनका लागि निर्माण गरिएको हो।

अनुगमनका क्रममा निर्माण कम्पनीका प्रतिनिधिले निर्माण कार्यको प्रगति विवरणबारे जानकारी गराएका छन्।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले राजधानी प्रवेशको प्रमुख नाकामा हुने लामो जामको समस्या समाधान गर्न निर्माणाधीन परियोजनाले महत्त्वपूर्ण हुने बताइन्।

उनले विगतमा बाहिरी जिल्लाबाट काठमाडौं छिर्ने क्रममा नागरिकले घण्टौं जाम व्यहोर्नुपरेको उल्लेख गर्दै परियोजना सम्पन्न भएपछि आवागमन सहज हुने विश्वास समेत व्यक्त गरिन्। उनले ठूला पूर्वाधार आयोजनामा नेपाली नागरिकको सहभागिता न्युन रहनु चिन्ताजनक विषय भएको समेत बताइन्। उनले नेपाली श्रमिकलाई आवश्यक लाइसेन्स तथा सीप अभिवृद्धिको अवसर प्रदान गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्नसक्ने र विदेशमा समेत आफ्नो दक्षता प्रयोग गर्नसक्ने गरी अनुभवी बनाउनुपर्ने बताइन्।

सभापति चौधरीले भनिन्, ‘पहिले पहिले नागरिकले बाहिरी जिल्लाबाट काठमाडौं छिर्नुपर्दा निकै समय जाममा पर्ने समस्या थियो। यो परियोजना सम्पन्न भइसकेपछि हाम्रो त्यो अमूल्य समय बचत हुन्छ। जापनिज प्रविधिमार्फत निर्माण भइरहेको छ। दुःखको कुरा चाहिँ के छ भने नेपाली नागरिकको सहभागिता यो प्रोजेक्टमा न्युन रहेको छ। नेपाली श्रमिकले पनि लाइसेन्स पायो भने विदेशमा गएर पनि आफ्नो सीपको सदुपयोग गर्नसक्ने र अन्तर्राष्ट्रिय मापदण्डको काम पनि गर्न सक्नुहुन्थ्यो।’

जापानको हाजमा आन्दो कर्पोरेसनले सुरुङ निर्माणको कार्य गरेको हो भने निप्पोन कोइ, जीइओ रिसर्च र नेपाली परामर्शदाता संस्थाहरूको संयुक्त रुपमा सुरुङमार्गको डिजाइन तथा सुपरभिजन गरेका छन्।


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३१७:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend