काठमाडौं- व्यवसायी शेखर गोल्छामाथिको अनुसन्धानमा जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्ने म्याद थप गर्न अस्वीकार गरेको छ।
सोमबार गोल्छालाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो। त्यसलगत्तै धरौटी बुझाए पनि उनी पुनः अर्कै मुद्दामा भन्दै पक्राउ परेका थिए।
सीआईबीले बीमासम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएर मंगलबार म्याद थप गर्न लगेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायशीध मोना सिंहको इजलासले गोल्छलाई म्याद नथपेको हो।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार सर्वोच्चको फैसलाले नै हिरासतमा राखेर अनुसन्धान गर्नु नपर्ने भनिसकेको अवस्थालाई मध्यनजर गर्दै म्याद थप्न अस्वीकार गरिएको हो।
यसअघि सोमबार सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा पनि अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको थियो।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन २०८३’ मा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्छाको समेत नाम थियो। त्यही विषयमा थप अनुसन्धान गर्न सीआईबीले उनलाई यही बैशाख ११ गते पक्राउ गरेको थियो।
