सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

याम्बालिङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २२ २०८३
याम्बालिङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

काठमाडौं- याम्बालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज बैशाख २२ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

कम्पनीले कुल जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये स्थानीयका लागि ७ लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख १० हजार कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता सेयर छुट्ट्याएर बाँडफाँट भइसकेको छ। 

बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। जसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

केयर रेटिङ नेपालले कम्पनीलाई 'केयरएनपी डबल बी माइनस' रेटिङ प्रदान गरेको छ। जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ। कम्पनीले ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। जसको कुल लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँभन्दा बढी र प्रतिमेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ रहेको छ। आयोजनाको अनुमतिपत्र अवधि साढे २५ वर्ष बाँकी छ भने साधारण लगानी फिर्ता हुन १०.७६ वर्ष लाग्ने अनुमान गरिएको छ।

मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र 'मेरो सेयर' मार्फत अनलाइन आवेदन दिन सकिने छ।


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३१०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend