काठमाडौं- लगातार ३ कारोबार दिनयता घटिरहेको सेयर बजार परिसूचक नेप्से यो साताको पहिलो कारोबारमा पनि दोहोरो अंकले घटेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आज नेप्स परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ५.७३ अंकले घटेर २७३८.२६ मा पुगेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ४१ कम्पनीको ९७ लाख ४३ हजार ५८ कित्ता सेयर ६६ हजार ६ सय ५८ पटक किनबेच हुँदा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २ सय ४ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड सेयर १५ प्रतिशतले बढेकाे छ भने झापा इनर्जीको सेयर ६.७८ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कम्पनीको ३१ करोड २८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यसैगरि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १७ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा लघुवित्त उपसमूहका बाहेक सबै १२ वटा उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै २.५४ प्रतिशत घटेको छ।
बैंकिङ ०.८६, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशत घटेकाे छ।
