कास्की- पोखरामा पनि अतिक्रमित संरचनाहरू हटाइने भएको छ।
पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि ३५ दिनको सूचना जारी गरेको छ। यही बैशाख ३ गते कार्यपालिकाको बैठक बसी महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सूचना गरेको हो।
पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्याइएको थियो। विसं २०३२ मा पृथ्वीचोकमा २०५ रोपनी जग्गामा बसपार्क बनाउने योजना अघि सारिएको थियो। पूर्वमा सेती नदी, पश्चिममा साबिकको ट्राफिक भवन, दक्षिणमा एयरपोर्ट र उत्तरमा साल्ट ट्रेडिङको भित्रको चार किल्लाभित्र बसपार्कका लागि छुट्याएर राजत्रपत्रमा प्रकाशित गरिएको थियो।
बसपार्कका लागि जमिन छुट्याएको ५० वर्षसम्म काम नहुँदा २०५ रोपनी जमिन अहिले आएर ४७ रोपनीमा खुम्चिएको छ। बसपार्कको जग्गामा सुकुम्बासी छन्।
पोखरा महानगरपालिकाले गरेको अध्ययनअनुसार बसपार्कको जमिनमा ४०० बढी सुकुम्बासी परिवार बस्दै आएका छन्। लामो समयसम्म बसपार्क नबन्दा अहिले सडक पेटीबाट नै लामो तथा छोटो दूरीका बसहरु आफ्नो गन्तव्यमा छुट्ने गरेका छन्। यसबाट पोखराको पृथ्वीचोक क्षेत्रमा सधैँ यातायात अस्तव्यस्त हुने र लामो जामको समस्या निम्तिएको छ।
काठमाडौंमा केही दिनयता अतिक्रमित जमिन खाली गराउने क्रम जारी छ। पोखरामा रहेका सुकुम्बासीले व्यवस्थापन बिना आफूहरुलाई हटाउन नहुने बताएका छन्।
बसपार्कभित्रको कृष्ण टोल आमा समूहकी अध्यक्षसमेत रहेकी स्थानीय रुपा केसीले आफूहरु अव्यवस्थित भएर बस्न नचाएको सुनाइन्।
भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले बसपार्कका सुकुम्बासीलाई सकभर अहिले बसोबास गरिरहेको वडा नं ९ भित्र वा नजिकको वडामा पहिला व्यवस्थापन गर्नुपर्ने बताए। व्यवस्थापन विना महानगरले बसोबास गरिरहेको स्थान खाली गर्नका लागि सूचना जारी गरेपछि आफूहरु चिन्तित बनेको उनको भनाइ छ।
मजदुर नेता रुद्र गौतमले बसपार्कका अतिक्रमित संरचना हटाउने काम थाले सरकारको कदममा आफूहरुको सहयोग रहने बताए। बसर्पाकका लागि छुट्याएको २०५ रोपनी जमिनमै बसपार्क बनाउनुपर्ने उनको भनाइ छ। रासस