काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक रुपैयाँ सरकारी खर्चले सात रुपैयाँ निजी लगानी आउनुपर्ने बताएका छन्। १४ खर्बको दायित्व रहेको भन्दै उनले भने 'हात खुट्टा बाँधिएको स्पेसबाटै आशावादी बजेट ल्याउनुपर्ने छ।'
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्रीले भने, 'बजेटमा कुनै सस्पेन्स छैन। वाचापत्र र प्रतिबद्धतापत्रमै रहेर आउँछ। यसमा कुनै गुप्तचरी आवश्यक छैन। हाइड्रो र पर्यटनको गीत धेरै भयो र अब नयाँ ड्राइभर खोल्नुपर्छ। आईटी र खनिज जस्ता सम्भावना छ। सही नियत र नीति भएपछि डराउने कुरा छैन।'
सरकारले पुँजीगत खर्च गरेर नहुने बताउँदै उनले पूर्वाधारमा निजी लगानी ल्याउनु आवश्यक रहेको बताए। केही क्षेत्रमा निजी लगानीको सुरुवात गर्न सकिनेसमेत उनले सुनाए।
निजी क्षेत्रलाई विकासको सारथी बनाएर जानुपर्ने भन्दै उनले भने, 'हामीले लिने ऋण पनि त्यतै लिनुपर्छ। विगत पाँच दशकमा जति पूर्वाधार बनेका छन् ती सबै ऋणबाट बनेका हुन्। त्यो सहुलियत ऋणको विन्डो पनि बन्द हुँदैछ।'
'हामीले दशकौँ खेर फालेका छौँ। अब हाम्रो विकल्प भनेको प्रतिस्पर्धी निजी क्षेत्र हो। नेपालीले नै गर्नसक्ने काममा विदेशी गुहार्न नपर्नेगरी तयार हुनुपर्यो' उनले भने।
अर्थमन्त्री वाग्लेले उद्योगी व्यवसायीलाई दलगत गुटबन्दी नगर्न पनि सुझाव दिएका छन्। उनले महासंघको चुनावमा दलीय गुटबन्दी नगर्न सुझाव दिएका हुन्। सबै संस्था र क्षेत्रमा दलीय गुटबन्दी भएकाले समस्या आउन भन्दै उनले अब त्यस्तो नगर्न सुझाव दिएका हुन्।